Thursday, January 17, 2013

जादु पर्खेर


जराबाट निर्खिदै झरेको बल
हाँगाबाट खिईदै झरेको वैंश
पात पातबाट चुहुँदै भागेको उमङ्ग


यो बुडो रूख
उभेको छ
जादु पर्खेर।


जसरी उभेको छ मेरो देश
छातीभरि योजनाहरू खिलेर
भोकभोकै
हातभरि ऐनका ठेलीहरू बोकेर
हेपिदै मारिदै


जसरी उभेको छ सभ्यता
मान्छेको महानताको कथा भन्दै सुनाउँदै
मरेका दिनहरूको झुठा गीतहरू गुनगुनाउँदै


जसरी उभेको छ
व्यवस्था
आफ्नै रोगी मुटुको ढुकढुक नसुनेर
आत्तिदै आत्तिदै


बुडो रूख
उभेको छ
जादु पर्खेर।


जसरी
कान सुन्ने
मगज चल्ने
मुखले बोल्ने
सचेत निकम्मा
हामी उभेका छौँ।


1 comment: