Friday, November 9, 2012

पैसा





‘आइज!’
यसले यति हियाएर बोलाउँछ
कि मलाई प्रत्येक दिन आफैप्रति घृणा जाग्छ
‘मान्छे’ यो आफ्नै जात साँघुरो लाग्छ।

च्यात्न खोज्नु, च्यात्नै सकिन्न
अचम्मको सकस छ
घमण्डले भरिएको यसको आँखाको तेजमा
सल्किँदै-सल्किँदै झर्ने आत्मबल सम्हालेर
हामी देश सम्झिन्छौँ
हामी गाउँ-सहर सम्झिन्छौँ
अनि कविता सम्झिन्छौँ

चोर मलाई!
भगा मलाई!
लुका मलाई!
यो खुल्ला अनैतिक हाँक दिन्छ
पसिना-रगतमा रुझ्नेहरूतिर इसारा गर्छ
नैतिक, आदर्शवान, इमानदारहरूको अनुहार ताकेर देखाउँछ।

‘आँट भए फ्याँकिदे!’
खुल्ला चुनौती दिन्छ
बिमारी स्वास्नीको अनुहार देखाएर हाँस्छ
मिठाई हेरेर थुक झार्ने नानीको आँखाको डिलमै उभेर हाँस्छ
‘सक्छस्?’
यसले बँधुवा पशु ठान्छ मान्छेलाई।

‘बस्! तराजुमा’
यसले यत्ति खसाएर मोल तोक्छ
कि
लाग्छ मान्छे आफ्नै निर्माणको दास भयो
लाग्छ कि मान्छे कागज भन्दा सस्तो भयो

यसको आँखा छलेर
यसको विरोधमा उभ्छन् मान्छेहरू
यसको अन्याय अनि अपराधहरूको सुची बनाउछन्
सन्यास लिन्छन, सन्त हुन्छन्
फेरि अर्को बिहान सन्तहरू
झोला बोकेर दैलो-दैलोमा समर्पण गर्छन्।

‘कूद्! मलाई समा!’
मान्छेहरूसित खुले-आम ठट्टा गर्छ
बजारको भिड मानो भनिरहेछ
सास नहोस्, पैसा होस्!
मिठो गाँस नहोस् पैसा होस्!

‘नाच मान्छे नाच!’
यति सानसित हुकुम गर्छ यो
मानो
मान्छेको सभ्यता
पैसाको दरवारमा अदना नर्तकी हो।

यो आफुलाई कविता भन्दा ठुलो हुँ भन्छ
म मान्दिन, त्यसोर
‘लाखेस्!’-
यो अहिले
मसित निक्कै रिसाएको छ।

No comments:

Post a Comment