Thursday, November 8, 2012

कुन बाटो भएर जाउँ?




स्कुल जानु? जानु?
कसरी आमा?-
बाटोमा सर्पजस्तो आँखाहरु छन्
आँखाहरु बाटोभरी पच्छाई हिड्छन
मेरो ‘स्कुल ड्रेस’
यत्ति पक्का छैन
कि म मेरो आकार छोप्न सकुँ बिषाक्त आँखाहरुबाट
कि म बच्न सकुँ तिनका भोका ‘एक्स-रे भिजन’-बाट
मेरो छात्तीदेखि तिघ्रासम्मै
बौलाहा खहरे भएर झर्ने आँखाको आगोमा
कसरी बचाउनु आमा मेरो शीर?

कि म!
नाङ्गै जाउँ आमा शहर??
भालेको यो शहर
यस्तै लाग्छ,
बरू
नग्नता बजारको आँखामै टालीदिउँ
कपडामा थुनिएका तिनका भोकहरुमा भोगिएका तिनका आमा देखाउँ!

मेरो अङ्ग- अङ्ग चुहेका तिनका भोको रालहरु
कुनै पानीमा पखालिन नसकेका
प्रत्येक मौका, भिड, बजारमा
दागी बसेका छाडा स्पर्सहरु छन्
शरीरको एक-एक हिस्सामा
हेर्नु न आमा!
भालेहरुको भोकले डामेको मेरो आकाश
तुर्लुङ्ग झुन्डिएको ऐन अनि कानुनको
कमजोर टालोले जिउ ढाकेर साँघुरिएको छ

आमा भालेहरू मेरो नग्नताको विरोध गर्छन्
अनि मेरै नग्नतामा चाख लिन्छन्
कसरी विश्वास गर्नु?
भालेको बजार
प्रेमको उत्सवमा कामुकताकै विज्ञापन छ।

छोरीहरु स्कुल जाउ,
टेलिभजनले भन्छ
छोरीहरू सुरक्षित छन्
कानुनले भन्छ
पत्याउनु आमा?
दुर्भाग्य!
भालेको बजार
खोई बाबुकै अँगालोको स्नेह पनि
तराजुमै छ।

म पनि जान चाहन्छु स्कुल-कलेज आमा
तर जान त जानु
कुन बाटो भएर म जाउँ?

No comments:

Post a Comment