Wednesday, November 21, 2012

नडराऊ







तिम्रो खुट्टालाई हेर
तिम्रो निम्ति
उभिदिने यही हो
हिडिदिने यही हो

लड्न सक्छौ
तर नडराऊ
खाडल देख्ने आँखा तिमीसितै छ
भिर अनि बाटो चिन्ने मगज तिमीसित छ


कहिले तिमी एक्लै पर्नेछौ
तिम्रै छायाँ पनि तिमीसित हुनेछैन
कहिले भयानक आवाजले तर्साउन खोज्नेछ
कहिले निष्ठुर निस्तब्धताले गाँज्न खोज्नेछ
नडराउ!
तिम्रो सामर्थ्यलाई समयले बारम्बार परिक्षा लिनेछ।


फुल बोकेर आउने काँडाहरू देख्नेछौ
रगत टेकेर आउने देउताहरू भेटनेछौ
मुटुमा बास बस्ने बिषहरू पनि चिन्नेछौ
नडराऊ
तिम्रो ‘विवेक’ सधैँ तिम्रो साथ रहनेछ


तिम्रो हाथलाई हेर
जो तिम्रो निम्ति सधैँ डटिरहनेछ
जो तिम्रो निम्ति सधैँ खटिरहनेछ
तिम्रो शीरको मोल तोक्नेहरू
तिम्रो स्वाभिमानलाई किन्न आउनेछन्
तिम्रो सपनालाई वस्तु ठान्नेहरू
तिम्रो इमानको लिलामी गर्न आउनेछन्
नडराउ
अनुहार छोपेर हिड्ने ‘रवाफ’-हरू काँतर छन्
देश किन्ने-बेच्ने ‘धाक’-हरू काँतर छन्

नडराउ
डर देखाउने गर्जनहरू त आकाश भरि छन्
डर देखाउने युद्धहरू सिमाना, सिमानामा छन्
डर देखाउने मृत्युहरू बजार-बजारमा छन्
डर देखाउने हत्याहरू झोपडी-झोपडीमा छन्
यी डरहरू बिनाको ‘बहादुरी’ अधुरो हुन्छ
यी डरहरू बिनाको ‘सङ्घर्ष’ अपुरो हुन्छ

डरहरू तिमीलाई चुनौती दिनेछन्
तिमी डरहरूलाई चुनौती देउ
प्रिय!
नडराऊ!
डरबाट भागेको इतिहास छैन तिमीसित
डरबाट हारेको इतिहास छैन तिमीसित।





No comments:

Post a Comment