Thursday, November 22, 2012

केही भनिराखेर जान आएकोछु।







केही भनिराखेर जान आएकोछु।
फेरि-फेरि तिमी हुनेछैनौ
फेरि-फेरि म हुनेछुइन

लाखौँ-करोडौ वर्षहरूमाझ
हामी भएको थोरै वर्षहरू
शब्दका फ्रेममा छापिराख्नेछु

हावाहरूलाई केही भनिराख्नेछु
धुलो-माटोहरूलाई केही भनिराख्नेछु


चुप-चाप! चुप-चाप! गएकाहरूको
चुप-चाप!
चुप-चाप! भएकाहरूको
मुटुका धुनहरू उनेर
पाइलाका छापहरू टिपेर
विचारको क्यानभासमा
चित्र कोरी राख्नेछु

बाटोहरूलाई केही भनिराख्नेछु
आकाशहरूलाई केही सुनाई राख्नेछु

मायाहरू मरेर जानेछन् एकदिन
तृष्णाहरू हराएर जानेछन् एकदिन
बाटो हेरेर कुरिबस्ने छैनन्
आफ्नै घरका जोडी आँखाहरू

खोला रोकिएको हुनेछैन
समय रोकिएका हुनेछैनन्
त्यहाँ तिमी हुनेछैनौ
त्यहाँ म हुनेछुइन
रुँदै बसेको आजलाई टिपेर
एक-अर्कालाई हँसाउन खोजेको
केही मिठो समयलाई टिपेर
आँगनहरूलाई केही भनिराख्नेछु
धर्तीलाई केही सुनाईराख्नेछु
जुन शब्दका धुनहरूमा
अनन्त बाँचिरहनेछन्
मेरो प्रिय समयका जिजीविषाहरू!!

केही भनिराखेर जान पाएकोछु
केही भनेर जान आएको छु।

No comments:

Post a Comment