Wednesday, November 21, 2012

बिँडीको ठुटा








बिँडीको ठुटामा
आगो छिट्टो निभ्छ
धुँवा छिट्टो निभ्छ


निकोटिनको लालिमा बसेको उसको औँलामा हेर्नु
धुँवाको प्रणयमा लट्ठ
उसको आँखाको गहिरोमा हेर्नु
चाउरिएका गालाको खोपिल्टाहरूमा
निधारको खुम्चिएका रेखाहरूमा हेर्नु
औँला नाघेर जलेको ठुटाबाट,
कस्सेर ‘कस्!’ तान्ने ओँठमा जमेको कालो परतमा हेर्नु
उसको मौनता
धुँवाहरूसित विलाप गर्छ
धुँवाहरूसित न्याय माग्छ
धुँवाहरूलाई छात्ती देखाउँछ

तर
बिँडीका ठुटाहरूको
आगो छिट्टो निभ्छ
धुँवा छिट्टो निभ्छ

बिँडीको बैँस नै आगो
बिँडीको बैँस नै धुँवा
औँलाबाट झरेपछी बिँडीका लासहरू
सडकका किनार-किनार
‘तर्’ लाग्छ।

हत्केलाहरूबाट झरेर
पैतालाबाट टेकिने विरही कथाको एउटा पात्र
फैलिएर बाटो बाटोभरि
-उही औँलाहरूकै कथा भनिरहन्छ
-उही छात्तीकै गित गाइरहन्छ
-उही ओँठकै कल्पना गरिरहन्छ

तर
बिँडीका ठुटाहरूको
आगो छिट्टो निभ्छ
धुँवा छिट्टो निभ्छ



No comments:

Post a Comment