Monday, November 19, 2012

श्रम




पानीदेखि डराउने
रङ्ग पोतिएको सौन्दर्य जस्तो

जो रूमालमा खसेर मर्दैन

त्यो प्रकृतिभन्दा तेज
त्यो प्रकृतिभन्दा उज्यालो
सिर्जनाको बिज

जो जुग जुगदेखि
फुल्दै आएको छ
आश्चर्यका हजार निर्माणहरू

घामदेखि छलिएर हिँड्ने
सियाँलमा फक्रिएको वैँश जस्तो

जो गल्लामै कक्रिएर ढल्दैन

त्यो, समयभन्दा तेज
त्यो, समयभन्दा उर्बर
सभ्यताको बीज

जो जुग जुगदेखि
फल्दै आएको छ
आश्चर्यजनक आवश्यकता
अनि आविस्कारहरू

धरतीको क्यान्भासमा
जो नित्य रङ्ग भर्दछ
मुक्त आकाश अनि धरती माँझ
जसको पराधिन सङ्गितको धुनमा
'परेड' खेल्दै ब्युँझन्छ प्रत्येक देशका सिमानाहरू

विज्ञापनको खोल
पारदर्शी कपडामा कैद
लाजहरू जस्तो

जो बजार माझ नाङ्गिदैन

त्यो स्वाभिमानी घामको
अक्षर
जसको ‘उज्यालो’ अपहृत छ।

No comments:

Post a Comment