Friday, November 2, 2012

देवल







सिमेन्टले छेकेर राखेको
बालुवा-बज्रीको मुटुमा
कति इन्चको फलाम होला?

न रून सक्ने
न हाँस्न सक्ने
यो संवेदनहीन
पर्खालले
छुट्टाएको छ
-‘मान्छे’-को वर्ग
-मान्छेको ‘जात’
-मान्छेको ‘कद’


मिर्गहरू मिर्गबाट डराएनन्
जसरी मान्छेहरू मान्छेबाटै असुरक्षित भए
एक सन्चो निन्द्रा निधाउँने धुनमा
हज्जार निन्द्रा गुमाउने मान्छेहरूको शहर
सैयौं-हजारौं रेखाहरू कोरेर उभेको देवल अनि भित्ताहरूमाँझ
सिमेन्टले छेकेर राखेको
बालुवा-बज्रीको मुटुमा
कति ‘रेक्टर’-को भूकम्प धान्ने सामर्थ्य होला?

न सास दिन्छ
न त गाँस दिन्छ
भक्तिको चार भित्तामाझ
उभ्याइएको मौन ईश्वर जस्तो
न हिड्न सक्ने
न बोल्न सक्ने
यो सम्वेदनहिन
धरापले
बोकेरै ल्याएको छ
-युद्धको विभिषिका
-छल अनि बलको अर्चना

देवलहरू अघि
कि शीर झुकाउ
कि शीर उठाउ।

No comments:

Post a Comment