Wednesday, August 15, 2012

क्रिएटिभ कालेबुङ






जीवन जस्तै रहेछन् पहाडका शहरहरू।
***

योजना बिनै बनिएका यी शहरहरूका साँघुरो बाटो, गाडीका हल्ला, मान्छेका हतार अनि हल्लामा हामी प्रत्येक दिन हराउँदछौँ/ हराई त हाल्दैनौ तर हराएका जस्ता पाउँछौँ आफुलाई/ न त मैले मात्र त्यस्तो पाएको हो कि आफुलाई? जे पनि हुनसक्छ।
यो लेख्नुको एउटै कारण छ म भन्न चाहन्छु कि यी लेखिएका कुराहरू सय प्रतिसत साँचो हो भन्ने ठोकुवा छैन तर टिका भाइ नामक मान्छेको दिमागमा पसेर उसलाई ठिकै लागेको कुरा मात्र हो।
***
..
अहिले कालेबुङमा छु। कालेबुङ आउन अघि दार्जिलिङको राजवाडी बसेको थिएँ, त्यस अघि गान्तोक, त्यसभन्दा अघि सिलिगुडी। कुनै ठोस योजना बिनै, कुनै ठोस कारण बिनै बसाई सर्दै हिडेको मेरो जीवनमा ‘कालेबु्ङ’ बसाई सायद मेरो प्रिय बास हुनेछ। बेला-बेला यहाँको हाट बजारमा नितान्त एक्लो पाउँछु आफुलाई। सानै देखि चिनेको-जानेको भन्ने अनुहार एउटै छैन। रगतको साइनो परेको आफन्त भन्नु कोही पनि छैन। तर यहाँ म स्वाधीन छु। स्वाधीन मन भएका आत्मीयहरूको सङ्गतले कालेबु्ङप्रति मेरो आकर्षण बढेको छ। केही वर्ष भित्रै कालेबुङको डम्बर चौक, मेन रोड, मेला ग्राउण्ड, रेली रोड, हाट बजारसित मेरो आत्मियता बढेको छ।
यहाँ पनि मेरो बसाईको कुनै निश्चितता छैन। पूर्वजको डुलुवा ‘इन्स्टिङ्क्ट’- को सम्मोहन हो, न त मेरो वाध्यता मैले जीवनलाई स्थिरता दिन सकेको छैन। तर कालेबुङको बासले मलाई आफुलाई खोज्न, चिन्न, प्रेरित गरेको छ। कालेबुङले अहिले ठिक एउटा अँध्यारो कमरा बिचमा पिलपिलाउँदो, मधुरो तर जलेर उज्यालो पोखिरहेको समयमा छु।
***
भाषा-साहित्य,कला अनि राजनीतिसम्ममा कालेबुङको योगदान धेरै छ। कालेबुङ भन्नसाथ धेरै अनुहार अनि नामहरू मनमा आउँदछन्। पादरी गंगा प्रसाद प्रधान, पारसमणी प्रधान, भाइचन्द प्रधान, रामकृष्ण शर्मा, आदि। शिक्षा, चलचित्र, खेल, नाटक, चित्रकारिता आदि अन्य बिषयहरूसहित पुष्प खेतिमा पनि कालेबुङको छुट्टै बिशेषता छ। दार्जिलिङ जिल्लाभित्रै पर्ने एक क्षेत्र भएपनि दार्जिलिङको अन्य ठाउँहरूको तुलनामा कालेबुङको आर्थिक जीवन पृथक छ। दार्जिलिङ शहर वरिपरी चियाबारीहरू छन् भने कालेबुङ वरिपरी धेरै गाउँ-बस्तीहरू छन्। चियाबगानमा जस्तो ट्रेड-युनियन अनि राजनीतिक गतिविधि गाउँमा धेरै हुदैनन्। यसबाट कालेबु्ङले पाएको राम्रो पक्ष हो सरलता अनि सोझोपन। कालेबुङको साहित्य अनि सिर्जनामा पनि त्यही सोझोपन अनि सरलता बडी उद्घाटित बनेका छन्।
‘साहित्यमा सरलताको चर्चा अस्ती भर्खर त भएको!’- साहित्य प्रकाशन परिषदले आफ्नो १५वा वार्षिक सम्मेलन आयोजन गरेका थिए। अरूणप्रकाश राईज्युले संचालन गरेको कार्यक्रममा वक्ताहरू सबैले एक स्वरमा भने साहित्य सरल अनि पाठकले केही न केही प्राप्त गर्ने हुनपर्छ। मलाई एउटा कुरामा ध्यान गयो ‘चासो’ पत्रिका। यस पत्रिकाको पाँचौ अंक प्रकाशित भयो। चौथो अंक प्रकाशित भएको आठ वर्ष पछी।
आठ वर्ष पछी ?? यो त अनियमित भयो नि! यस्तो हुनुभएन। - अथिति सर्जकले प्रतिक्रिया व्यक्त गर्नु भयो। अथिति महोदयले सोच्नुभयो कालेबुङको साहित्य प्रकाशन परिषदको साहित्यिक पत्रिकाको पाचौँ अंक आठ वर्ष पछी प्रकाशित भयो। ठिक त्यही समय....मलाई अर्को प्रश्नले झक्झकायो -‘आठ वर्षपछी? आठ वर्ष पछी यो पत्रिका किन प्रकाशित भयो??’
गत केही वर्ष देखि कालेबुङमा साहित्यिक कार्यक्रमहरूको नशा नै फैलिएकोछ। बसिबियाँलो, चरित्र प्रकाशन, साहित्य अद्ध्ययन समिति, उपमा प्रकाशन...र अरू पनि। सम्पूर्ण राई, सानुमति राई, समशेर अली, देव भण्डारी, मनोज बोगटी, आदि थुप्रैका सिर्जनाहरू धमाधम प्रकाशित बने यही बिचमा।...अनि सम्झिएँ दार्जीलिङ। अनि फेरि सम्झिएँ गान्तोक। केही न केही फरक त छ। साहित्यिक संसार पनि भोक अनि स्वार्थ मुक्त छैन। यसमा पनि ठेला-ठेल, प्रतिस्पर्धा र गज्जबकै हल्लाहरू छन्। कालेबुङले सम्भवत आफुलाई त्यो सबैदेखि पृथक राख्न चाहेको छ।... पहिला पनि यहाँ सिर्जनात्मकता ठप्प थियो भन्ने होइन तर कार्यक्रम, गतिशीलता अनि प्रकाशनमा आएको तिब्रताको हिसाबले बितेका केही वर्ष महत्वपूर्ण छन्। यी सबैको पछी ‘बसिबियाँलो’- साहित्यिक भेलाको महत्व धेरै छ। नाट्यकर्मी सी.के. श्रेष्ठ, कथाकार शमशेर अली, हिरा छेत्री,कथाकार ज्ञान सुतार दाईहरू लगायत माया (भारतीय गोर्खा नारीहरूको पत्रिका)-मा संग्लग्न महिला सर्जकहरूमा बसिबियाँलो साहित्यिक भेलाको जीवनको एउटा एउटा विशेष हिस्सा नै भएको हुनुपर्दछ।
मित्र उमेस उपमाको ‘उपमा प्रकाशन’ चल्ने सानो दोकान छ सुपर मार्केटमा, दार्जिलिङको प्रख्यात ‘कान्छा दाज्युको पुस्तक दोकान’ जस्तै कालेबुङमा ‘उपमा प्रेस’-ले धेरै सर्जकहरू भेट गराउने सेतु जस्तो काम गरेको छ। कार्यक्रमहरू बाहेक कथाकार संजय विष्ट, सर्जक सुधिर छेत्री, मनोज बोगटी, आदिसित प्राय मैले यहिँ भेटेको छु। भाषा- साहित्यको अनि यदाकदा राजनीतिको चर्चा सितै उमेसको व्यस्त व्यावसायिक जीवनको स्वाद लिन पाईन्छ। उमेसभित्र छ सुन्दर ‘कभर डिजाइन’ गर्ने लालसा, गित लेख्ने चासो तर प्रेसको कामको चाप मुक्त बन्नु नै उनलाई धेरै गाह्रो। बितेको केही वर्षहरूमै उमेसको दोकानबाट दर्जन भन्दा बडी साहित्यिक कृति प्रकाशित भइसकेका छन्। अरूण सामपाङ अनि सुरज सुब्बाको संयुक्त गजल सङ्ग्रह- ‘कालो गुलाब’, सिताराम काफ्लेको लेख सँगालो ‘विमर्श-विमर्श’,शमशेर अली कृत कथा सङ्ग्रह ‘बिउ भाले’, सानुमति राई अनि स्व. सम्पूर्ण राईको कविता सङ्ग्रह, ज्ञान सुतारको कथा सङ्ग्रह जुलुसमा हिड्ने मान्छे आदि उपमा प्रकाशनले हालैका वर्षहरूमा प्रकाशित गरेका कृतिहरू हुन्। उपमा प्रकाशनसहित चरित्र प्रकाशनले पनि चरित्र लगायत हिरा छेत्रीको पत्र-पत्रिकामाथिको शोधमुलक ग्रन्थ प्रकाशित गरिसकेको छ। वर्णित प्रकाशनहरू बाहेक, कवि सुधिर छेत्री, उज्ज्वल बम्जन, मनोज बोगटी, देव भण्डारी, सिताराम काफ्ले, बी.के. सिलाल आदि सर्जकहरूका कृतिहरू पनि प्रकाशित भएका छन्।
***
भर्खरै भारतीय गोर्खा नारीहरूको पत्रिका ‘माया’ श्रीमती मुन्नु गौतमको सम्पादनमा प्रकाशित भयो। अहिले दार्जिलिङबाट स्थानान्तर भएर सर्जक विन्ध्या सुब्बाजी कालेबुङ नै हुनुहुन्छ। लेख-कविता लेख्न रुचाउने कालेबुङमै २०-२४ महिला सर्जकहरूको उपस्थिति रहेको कुरा माया पत्रिकाले देखाएको छ। नारीहरू पनि साहित्यको क्षेत्रमा अघि आउनुपर्छ भन्ने चेतनालाई रोप्ने कोसिसमा लागेको ‘माया’-को पहललाई कालेबुङको निम्ति एउटा इतिहास मान्नु पर्दछ। यस अघि महिलाहरूको साहित्यिक संस्था कालेबुङमा भएको तथ्य थाहा लाग्दैन। दार्जिलिङमा पनि बसुधा बाहेक अन्य समुह सक्रिय छैन।
***
कालेबुङबाट साहित्यिक आन्दोलन अघि बढाईएको खासै इतिहास छैन, यत्ति हो यहाँबाट रामकृष्ण शर्मा सरह समालोचक, एम.एम गुरुङ सरह राम्रा कथाकार, राजेन्द्र भण्डारी जस्ता सिर्जनशील कवि, जन्मिए। आन्दोलनको नाम लिने हो भने कवि सुधिर, जय क्याक्टस प्रवृत्ति साहित्यिक सर्जकहरूबाट शुरु भएको विचलन नै कालेबुङ क्षेत्रबाट शुरू भएको लेखनको नया धारा हो। साहित्यमा रोमान्टिकता, यथार्थवाद, प्रतिकवाद आदि नै यहाँ प्रचलित धारा हुन्। लेखनको समसामयिक तरिका र प्रयोगहरूलाई कतिपय सर्जकहरूले खोजि गरिरहेको भएता पनि लेखनको परम्पारिक छाप नै कालेबुङको सिर्जनामा देखिएको कमजोर पाटा हो। अहिले सिर्जनाप्रतिको सकारात्मकता बढेको छ अब यसले बौद्धिक गहिराई अनि सिर्जनात्मक उचाईप्राप्तिको कोशिष पनि अवस्य गर्ला भन्ने आशा राख्न सकिन्छ।
***
यो लेख्दा-लेख्दै सम्झना आयो एक राम्रो लेख्ने क्षमता भएका युवा सर्जक जो कार्यक्रमहरूमा उस्तो सहभागी बन्दैनन्। उनि हुन् उज्ज्वल बम्जन तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् अहिलेको कालेबुङको सिर्जनात्मक बहावबाट अप्रभावित तर राम्रा लेख्ने कवि, उनीबाहेक मैले खुबै सुनेको नाम भगीरथ रावतजी पनि कार्यक्रमतिर भेट्दिन वा भेटेर पनि चिन्न सकिन, अनि एक सरल, मिष्ठभाषी दाइ मिङ लिवाङ उहाँहरू जो यसरी चुपचाप बसेर सिर्जना यात्रामा तल्लिन छन् उहाँहरूको संख्या पनि कालेबुङमा धेरै छ।
यी सबै कुराहरूसहित लेख्न पर्ने अनि मैले पाएको थोक हो कालेबुङमा सर्जकहरू माझको सिर्जनात्मक एकता। विचारमा अलग, चिन्तनमा अलग, धेरै थरीका सर्जकहरू एउटै मंचमा भेला भएर विचार-विनिमय गर्न सक्ने अनि दौड अनि प्रतिस्पर्धा जस्तो नकारात्मक स्थितिहरूदेखि अलग रहने मानसिकता कालेबुङको सिर्जनात्मक घडेरीको निम्ति मजबुत आधारहरूमा एउटा हो। ‘हामी जीवन अनि समाजको निम्ति लेख्छौँ- पुरस्कारकको निम्ति लेख्दैनौ’-को चेतनाको अभावमा आज भारतीय नेपाली साहित्यमा समय-समयमा उराठलाग्दो हल्लाको बजार लाग्छ। - त्यस्ता प्रवृत्ति अनि भोक विरुद्ध ‘कालेबुङको सिर्जनशीलता’ एउटा जवाब भएर उभिदिन सक्छ कि!
***
अहिले ठिक यस्तो आशा संचार गरिरहेको, बैसालु कालेबुङमा म छु। परिवर्तन हुन्छ प्रत्येक कुरा...परिवर्तन राम्रो हुन्छ, नराम्रो पनि हुन्छ। अहिले ठिक कालेबुङ भोलि बेठिक हुनसक्छ। यो ठिक भएको समय, यो ठिक भएको स्थिति हामीले कालेबुङलाई लामो समयसम्म अझ ठिक , झन ठिक बनाउने उद्धममा जुट्ने यन्त्रको एउटा हिस्सा बन्न सक्दैनौँ?-
-यत्ति सोचेको छु। अनि यो रात निन्द्रा हराएको छु।





No comments:

Post a Comment