Wednesday, August 15, 2012

मन-प्रवाह



(धारा-कविता)


१.
अब समय भयो- चार भित्तामा थुना परेको आँखाले- खिड्की बाहिर हेरौँ ल!
मगजमा जत्ति छ– त्यति मात्र छैन – ठेला गाडीमा बेचिन आउने समुद्र अनि घामको उज्यालो – कारखानामा पाक्ने ‘भात’ – बादल छेउ ‘ओलम्पिक खेल’ – फलामको यान्त्रिक सन्तान - उता, उता, उता, मगजको संसार, मगजको सम्भावना-
अब समय भयो- मगजको के काम?- सोच्ने कि सोच्दै नसोच्ने?।

२.
डर लाग्छ?- हिड्न? – अँध्यारोमा? – भुत भन्ने आफ्नै विश्वाससित? कि च्याप्टो संसारको पल्लो किनाराबाट चिप्लेर झरिन्छ? - उही आँगन, उही गोरेटो, उही मन – मात्र तिम्रो सपनामा समुद्रतलको विराट फैलावट छ- कहिले चड्ने सगरमाथा??

३.
कम्प्युटरको आँखा- मोबाईलको कान- टेलिविजनको मुटु- रसायनिक रगत- पहियावाल खुट्टा – बस! मजगको ‘मेमोरी फुल’ छ। मगजमा छ मनोरन्जन! मनोरन्जन! मनोरन्जन। जीवनको आकार मानो कुनै यान्त्रिक ‘चिप’ – घटेको घटेकै छ।

४.
झोक्किदै कविता पसिन् डस्टबीनभित्र। झुकेर सिह्रानमै लेखिदिएँ शिर्षक-‘निलम्बित’
कविताले थुकिराखेर ढोकाबाहिर निस्किन्। सोच्दैछु.... सोच्दैछु ‘डिभोर्स’ लेखूँ कि ‘ब्रेक-अप’।
आखिर जे लेखे पनि त हुन्छ।….खिड्कीबाट टाउको छिराएर कराइन् कविता: ‘म तेरो मन बहलाउने मनोरन्जन होइन।’

५.
आखिर कहिलेसम्म?-कहिले सम्म झोक्राएर बस्नु?
फुलदानीमा समातेको बसन्त जत्रो हो र हाम्रो आकाश?- बिर्खे! यत्रो बजारमा अब कहाँ खोज्छौ तिम्रो टोपी?...छोडिदेउ जे हरायो-हरायो। बाउले दिएको त्यो पुस्तैनी टोपी, ओड्नु कहाँ थियो र तिमीले? – जौं ल! बिर्खे, आँसु चुहाएर हेरिदीईराख,- अन्तिम पल्ट- तिमीले छोडेको पाईला.....त्यसपछी म तिमीलाई कहिल्यै ‘बिर्खे’ भन्दिन।
अनि अब, ‘बिर्खे’!- तिमी पवन, विशाल, हिमाद्री अनि एड्विन भैसकेनौ र?

६.
धारा-धारा, मनको प्रवाह- आँखा अघिको दृश्य टिपेर, जब यो हिड्छ- मुटुको ढुकढुकीजस्तै एकनास- असिम अन्तरिक्षको सिमाहिन ‘स्पेस’-मा पुग्छ- यसलाई न छेक्ने बाँध छ, न थुन्ने सुन्यता।– सम्भावनाहरूको बिस्तृत फैलावट- मनको हातमा छन् कुची र असंख्य रङ्गहरूको इन्द्रेणी।....यसरी आउ कि आफैलाई बोध हुनसकोस्- आफ्नै आगमनको-आफ्नो उपस्थितिको।....फेरि सोध्न नपरोस् – ‘म कहाँ छु!’

७.
कहाँ छु म?
ए! अँ म भन्दैछु – कि तिमी नै भन- कि तिमी नै त भन्थ्यौ- कि तिमी खुसी छैनौ- तिम्रो आफ्नै वर्तमानसित- तिमीले नै त भनेका हौ – कि तिमी जम्न चाहन्नौ- कुवा जस्तो आकारमा- कुवा जस्तो स्थिरतामा- बग्ने भनेको तिमीले नै त हौ।
यता हेर न! – जङ्गलदेखि शहर पसेको इतिहास माझमा – कहिले-काँही निक्कै जोड्ले फड्को मारेर हिडेको समय – मान्छेको महान् चेतनाले कुवाहरूको भित्ता भत्कायो – मुख खोलिदियो र प्रवाहित बन्यो एउटा संग्लो नदी।
यसरी हिड्न सक्छौ तिमी?
कुवाबाट हाम्फालेर भिर-भिर हुदै..छाँगो-छाँगो खस्दै,- यसरी बग्नु जसरी मुक्त मन बग्छ। कत्ति प्यारो हुन्छ सपना।

८.
आउ
सपनाहरू अपडेट गरौँ। – समय अघि र सपना पछी-को ऐठनबाट ब्युँझेर। केही भन्दिन – भन्ने त तिमी हौ – म सुन्नेछु तिम्रो मनको मेलोडी। मैले त भनेको- म त हिद्दैछु तिमी पनि हिड्छौ कि??



1 comment:

  1. कविताको संरचनामा भन्दा विचारमा नयाँ प्रयोग हुनुपर्छ र यो कविताको बिचारमा प्रयोग छ , जुन बेजोड छ , भन्नुपर्छ !

    ReplyDelete