Tuesday, August 14, 2012

यसरी नहेर मलाई

मधुरो उज्यालोको धर्साबाट
एउटा हात निस्कन्छ
समात्न खोज्छ मन,
जुनको उज्यालोतिर हेर्छ
अनि चिम्लिछ आँखा
यो निभ्न लागेको दियोको
अन्तिम उज्यालो जस्तै,
नहेर मलाई


रातो पर्दामा खसेर
क्षितिजबाट धस्किदै झरेको घाममा
थाकेको बैँस र वियोगी अनुराग जस्तै
अस्ताएको मधुरोले
नहेर मलाई


झुमिसकेर एउटा उज्यालो पल
आँधीमय अर्को पल
एक्लिएर
हावाको प्रत्येक धक्काले
एक-पछी अर्को झर्दै झर्दै पत्रदल
आकार हराउँदै गएको फुलबाट
चुहेर झरेको मुस्कान भएर
मलाई नहेर।
यसरी नहेर मलाई।



प्रत्येक क्षण-प्रत्येक पल
तिम्रो आँखामा मैले खोजेको जीवन
वा तिमीले मेरो आँखामा खोजेको जीवन
जन्मेजस्तै
मृत्युमा सगौरव मुस्काउने
पराजित तर गौरवशाली इतिहास जस्तो
चम्किलो आँखामा धप्धप बलेको
फाँसीको क्रुर हुकुमको तख्ताजस्तै
बरू फेरि हेर!-फेरि हेर!


No comments:

Post a Comment