Thursday, February 9, 2012

(डायरी निबन्ध)
२)-चिट्ठी हराएको सोकमा

अक्षरका पुष्पहरू सजेको सिर्जनाको डोलीमा कलात्मक भाव,शिल्प, र महान् विचारका राजकुमारीको सवारी निस्किन्छ।...बाटोका दुई किनारा उभेर सौन्दर्य पारखीहरू शब्द-शब्दको सजिव परेडबाट तरङ्गित बन्ने आनन्दी धुनहरूको केन्द्रमा आफ्नो चैतन्यको प्रतिबिम्ब खोजिरहन्छन्।मुटुका ढुकढुकी तेज हुन्छन्। आशा, निरासा, पलायन, स्वेरकल्पना, स्नेह, अनि कस्तो-कस्तो भावहरू एकाएक ठेला-ठेल गर्दै मनको दैलो भित्र र बाहिर गर्दछ। दिमागमा त्यतिखेर कुनै ‘हार्मोन’-लाई वृद्धि गरिदिन्छ, वा कुनै स्नायुलाई उद्वेलित तुल्याईदिन्छ।–यही नशा मात्र मुलत त्यो नशा हो जसले मानव-समाजमा नविन खोज, नविन विचार, नविन चिन्तन र नविन सिर्जनाको सिर्जनात्मक भोककै खेति गर्दछ।
शब्द र भाषा मानव-समाजको त्यो अमूल्य धरोहर हो, जसको आविष्कारबाट नै शभ्यता,दर्शन,विज्ञान र अरू-अरू थोकले जन्मिने अवसर प्राप्त गऱ्यो। ‘अभिव्यक्ति’-भन्दा महान् सम्बन्धश्रोत, महान् दर्शन, महान् विज्ञान अरू छैन। आँखा, हात र शारीरिक मुद्रा, बोलिने भाषा अनि लेखिने भाषा यिनै मध्यमद्वारा हामी आफुलाई अरू अघि प्रकाशन गर्दछौँ।...तर यी सबैका स्वाद अर्कै-अर्कै छन्। बिहे-बटुलतिर नव-युवक,नव-युवतीमाझ साटिने प्रणयको अभिव्यक्ति आँखाले बोलिएको हेर्छौँ।...लजाएर लालिमा चडेको गाला। ‘एक क्षण पछी भेटौँ है’ भन्न गरिएको इसाराहरूमा ‘शब्द’ मनको डिलमा उभिएर कहिले-काँही ओंठसम्म आइपुग्छ। ओंठबाट शब्द आवाजमा चडेर कानसम्म आइपुग्दा त्यो ‘बोली’ हुन्छ। ‘तपाइँको घर नि कहाँ हो?’, ‘सन्चै हुनुहुन्छ?’- मातेको मान्छे बाहेक सद्दे मान्छेहरू बोल्न थाल्दा पनि त्यसको सिमा छ। उ त्यहाँ सम्म बोल्न सक्छ,जहाँ सम्म ति बोलि स्वाभाविक लाग्छन्।त्यहाँ उता मनका सम्पूर्ण भाव प्रकाशन गर्न उसले लेख्नै पर्छ। नलेख्ने मान्छेहरू -लेख्ने मान्छेहरूको तुलनामा थोरै कुरा मात्र अभिव्यक्त गर्न सक्छन्। एउटा शोध जरूरी छ। लेख्नेहरू अनि नालेख्नेहरूमाझ औसतमा कतै नलेख्नेहरू बडी नै मानसिक रोगका सिकार त छैनन्?
नलेख्नेहरू पनि लेख्थे। जतिबेला चिट्ठी लेख्ने जमाना थियो।
‘आदरणीय माता-पिता, सादर ढोग।’, ‘प्राणप्यारी बुनु’ ‘हृदयको राजा’, ‘अपरिचित मित्र’, अनि यस्तै थुप्रै सम्बोधन भरिएका पत्रहरूमा समाजका विभिन्न, थरिका मानिसहरूका भावपूर्ण अभिव्यक्तिको आदान-प्रदान हुन्थ्यो। अहिले पत्रको साटो मोबाईलका छोटा एस.एम.एस-ले ठाउँ लिईसकेको छ। पत्र भनेको आधिकारिक पत्र, बिन्ति-पत्र, अरू थरिका एप्लिकेसन, नोटिस आदि नै अस्तित्वमा बाँचेका छन्।..तकनिकी विकाससितै पुराना मध्यमहरू मर्दै पनि जान्छन् तर पुरानाको सम्झना र अभाव भने रहेकै हुन्छ। एक दिन पुस्तक, खाताहरू डिजिटल बनेर जाला। नानीहरू डिजिटल खाता-किताब र पेन बोकेर स्कुल जानेछन्। धेरै अघि मकैका दाना बोकेर स्कूल जाने मेरा अभिभावकहरूको समय र आजको उमेरमाझको फाँट र फरकमा धरासायी पुराना ग्रामोफोन, रेडियो,अडियो,पुराना गाडी,पुराना घडी,लेटर-प्रेस आदिकै हाराहारीमा एकाएक कहिँ हराएको छ ‘चिट्ठी’। घर पुग्दा एउटा-दुइवटा यसरी थुप्रीरहेका हुन्थे। प्रत्येक सप्ताह टाडा-टाडाबाट सम्झना, खबर र स्नेह बोकेर; कहिले भावुक अभिव्यक्ति, र मनका उथल-पुथलहरू गुँथेका शब्द-पुंजहरू ढाकघर चाहर्दै-चहार्दै घरको दैलोमा आइपुग्थे। जब आज मित्रहरूबाट हतारमा लेखिएका एस.एम.एस सुभेच्छा र खबरहरू प्राप्त गर्छु एकतिर समय बाँच्ने सरल उपाय देखेर खुसी अनि अर्कोतिर पूराना समय र थोकहरू कत्ति छिटो गुमाएछु-को बोधले भावुक पनि बन्छु।.....भित्ता पहराको भौं-प्वालबाट चुहेर निस्कने खोल्छा हुँदै नदी र अथाह समुद्रको गर्भसम्मको यात्रा हिड्नै पर्छ। जीवनको गतिशीलता र परिवर्तनमा आफुलाई ढाल्दै लान नसकिए हामी समयका यात्री हुन सक्दैनौँ पनि। घर बनाएर ओडारको माया किन गर्ने ? एउटा व्यावहारिक मनले प्रश्न गर्छ। महल बनाए पनि झोपडीमा गुज्रिएको सैसव बिर्सन सक्छस् त??अर्कोतिर भावुक मनले भावुक प्रश्न उठाउँछ।
यतिखेर म हराएको पत्र सम्झिरहेछु अनि अघिल्तिर यी दुई प्रश्न उभेका छन्। बाच्नको निम्ति म कसैलाई स्मरण गर्न सक्छु, प्रेममा डुबेर अश्रुमय एक भावुक पल बिताउन सक्छु तर यसपछि आँसु पुछेर उठ्छु, म सधैँभरि कसैलाई याद गरेर मात्र बाच्न सक्दिन।
मैले बाच्न पर्ने दिन आज हो।

No comments:

Post a Comment