Saturday, February 11, 2012

अजम्बरी सपना




यो कुनै पनि अनिश्चित समय हुनसक्छ
सोच्नुहोस्
सन् ३००१,
सन् ५,००१,
सन् १०,००१
वा त्यसभन्दा अझ उता
हाम्रा हाड-मासु गलेर
माटोका वा हावाका अंश हुनेछन्
र मान्छेको सभ्यताले
हाम्रो बर्बर उमेरका जीवाश्महरू र इतिहास
छक्क परेर हेरिरहेको हुनेछ।

निरास धर्मको
थाकेका अक्षरहरूले लेखिएका
सृष्टीको अन्तका निरास ‘थ्योरी’-हरू पक्रेर
रोइबस्ने छैनन् उनीहरू
प्रत्येक बिहानको सुर्योदयसित
मृत्युको जाप गर्दै
नयाँ-नयाँ ‘एपिक्यालिप्टो’ र प्रलयको भविष्यवाणी गर्नेहरू
त्यहाँ देखिनेछैनन्।

अन्तरिक्षका विचित्र
आकाशगङ्गाहरूमा रमाउनेछन् शिशुहरू
कोही पनि ईश्वर र पेटको नाम घोकेर
‘प्लेटफार्म’ र गल्लीहरूमा
हात फैलाएका हुनेछैनन्।
कुनै शिशुहरू
सहरले जन्माएको मैलोमा
किराहरू जस्तै हुर्किनेछैनन्।
बरू उनीहरू
आफ्नो बर्बर पूर्वजको कथा सुनेर
घिनले नाक खुम्च्याउने छन्।

त्यसबेला
युद्ध रुँगेर
क्रुरताको अभ्यास गरिरहेका
यान्त्रिक फौजहरू पनि हुनेछैनन्
न त मान्छे, मान्छेहरू
एक आपसलाई ढुकेर
सिकार खेलिरहेका हुनेछन्
बरू उनीहरू अहिंसाको साँझ-बिहान रट लगाएर
घरभरि हिंसाको भ्रुण हुर्काउने
महामानवहरूका इतिहासको गर्दनमा झोलिएका
स्वार्थका ‘ट्युमर्’-हरू काटेर फ्याँक्नेछन्।

हो त्यो दिन
हामी हुनेछैनौँ
त्यस दिनको निम्ति
आज मसित खुल्ला आँखाहरू छन्,
शिर उठेको स्वाभिमानी सपनाहरू छन्,
उनीहरूकै निम्ति पालेको
जीवनको असिम स्नेह
र आशाका केही मायालु शब्दहरू छाडेको हुनेछु
मृत्युका दर्शनहरूसित
घाइते परि-परि लडेका यी शब्दहरू
कसैले टिपेर लगे हुन्छ
अन्तरिक्षको नयाँ सहर,नयाँ बस्ती वा यस्तै केही
कुनै नयाँ थरिको वर्णमा लेखून्-
र थप लेखून्-
‘यस्तो थियो-
यूग अघि बर्बर मान्छेहरूको सभ्यतामा
पद्दलित जीवनहरूले पालेको स्वर्णिम सपना।’
र भनून्-
सपनाहरूको अन्त नभइ
कहाँ मर्छ र भविष्य?
प्रत्येक युगमा जन्मिनेछन् सपनाहरू
हो म आजको आँखाले,
पूर्ण-होसोहवास भोलिको नक्सा कोर्दैछु
त्यो भोलि-
जहाँ हुर्हुर जल्ने
कागजको मन र साइनोहरू हुनेछैन
जहाँ कृत्रिम अत्तरको सुगन्ध ओडेर
फोहोरी स्वार्थहरू बजार थाप्नेछैनन्
जहाँ मान्छे टेकेर मान्छेले
आफ्नो कद उचाल्ने छैन।
-र यो
फगत भविष्यवाणी होइन
एउटा हठी सपना हो
-मृत्युमय उन्मादको विरुद्ध।

यो कुनै पनि अनिर्णित समय हुनसक्छ
सोच्नुहोस
भोलि!
पर्सि!
वा निकोर्सी!
हामी हुनेछैनौ
यत्तिकै सत्य छ यो कि,
हाम्रा सपनाहरू मर्ने छैनन् हामीसित।

No comments:

Post a Comment