Saturday, February 11, 2012

भूपिको स्मरणसितै लेखकीय इमानदारिताको कुरा ....

अकादमीक लेखन वा समीक्षाको महत्व र गरिमा आफ्नै ठाउँमा छ |तर त्यसका सिमितताहरु पनि छन्
| त्यहाँ मैले खुल्ला र स्वाधीन रुपमा गफ गर्न पाउँदिन| टाउको, घाँटी, र भुडी हुँदै पुच्छरमा आएर रोकिनु पर्छ | तर स्वतन्त्र लेखन पनि खतरा मुक्त छैन| यसबाट कहिले अनावस्यक “बायास”(bias) खडा पनि भैहाल्दछ |अहिले म फेसबुक जस्तो सोसियल नेटवर्किंग साइटमा छु| यहाँ साहित्य प्रेमी दाइ चंद्रजिको प्रयासमा भूपी सेरचनलाई प्रेम गर्नेहरुको समूह तैयार गर्नु भएको छ| चन्द्रजी सधै यस समुहलाई कसरी रोचक बनाउने भन्ने चिन्तामा पाउँछु| साथीहरुको सहभागिता थोरै भएर जाने हो कि भन्ने एकतमासको त्रास उहाँमा छ| बेला बेला मेसेज गर्नुहुन्छ| म उहाँलाई आस्वस्त गराउँछु...चन्द्रजी म सक्दो सहयोग गरुला यसै भन्छु म| तर अब गर्ने के?
यसै पनि सर्जकहरु सबै, भूपिका कविताहरुदेखी अनभिज्ञ छैनन्| कतिजना सर्जकहरु भूपिको जीवन र सिर्जनाका प्रत्येक पक्छसित अवगत होलान् |....तर फेरी लाग्छ एउटा सर्जक जब बितेर जान्छन्....केवल एक दुइ वा हजार लाख होइन हेर्न वा अध्यन गर्न पर्ने त जीवन जस्तै असिमित कुराहरु छोडेरै गएका हुन्छन् ति कुरा कति कम महत्वका होलान् कति भने महत्वका तर कुराहरु त हुन्छन्| यसरी नै सोचे यस्ता समुहमा लेख्नु र आइरहनुको कारण अरु पनि भैरहने रहेछन् | हेर्नुहोस न यो कुरा गर्दा गर्दै मलाई हिन्दी साहित्यका एक सर्जकले हालै एक अन्य सोसियल नेटवर्किंग साइटमा झन्डै चुनौती नै दिदै सोधेको प्रश्न याद आयो...’लेख्न त राम्रो लेखेको रहेछस तर के तँ आफ्नै शब्दप्रति इमान्दार छस् ?’.....आफ्नै शब्द आफ्नै समबेदनाहरुसित हामी कति इमानदार छौं?? यो प्रश्न कतिलाई सानै लाग्छ..तर सानो त होइन | एक खराब मान्छे पनि राम्रो उपदेश दिन सक्छन | वा त्यो खराब मान्छेलाई सधै उभित्रको आत्म-रक्षात्मक चेत वा सेल्फ डिफेन्स मेकानिस्मले ‘तँ राम्रै छस्’ भन्ने चेत प्रधान गर्छ| आफुले आफ्नै सच्चाईको माप लिन नसक्ने स्थितिमा हामीले लेखेकै कुराप्रति हामी कति इमानदार छौं भन्ने तोक्नु कति गाह्रो काम हो | यस्सै त हामी भन्छौ नि म आफ्नो शब्द प्रति इमानदार छु | जन साहित्य भनेर जसलाई हामी चिन्छौ....वा अर्को शब्दमा प्रगतिशील लेखन| यसमा सर्जकको समाज र जनताप्रतिको साँचो लगाउ र व्यवहारिक संघर्षको अनुभव अति नै जरुरी हुन्छ | व्यवहार अनुभव र ज्ञान प्राप्तिको सबैभन्दा कारगर श्रोत हो |
हाम्रोतिर थुप्रै कविहरु यस्ता पनि थिए जो आफुलाई क्रान्तिकारी र विद्रोही कवि भन्न रुचाउँदथे |आम जनताको जन संघर्षसित पृथक रहेर, जनताको वास्तविक मुक्तिको व्यावहारिक पहलहरुको आनुभाविक ज्ञान बिना नै विद्रोहीको खिताब भिर्न चाहने ति कविहरुमा मुलतः परिचय संकटको असिम भोक जस्तो बिमारी रहेको थाहा पाउन उत्ति गाह्रो पर्दैन|
आदरणीय कवि भूपीमा निहित राष्ट्रवाद, वर्गचेत, मानवतावाद तथा सिर्जनात्मक इमानदारिता त्यो फोस्रो स्वेरकल्पना जस्तो क्रान्ति अनि विद्रोहको नक्कली मुखुण्डोदेखि कोसौं टाडा जीवनको व्यावहारिक भोगाई र इमान्दारिताबाट पलाएको थियो |त्यसैले त उनका भाव र सिर्जनामा कुनै छल कपट छैन| महलमा बसेर देखिने क्रान्तिमा रोमान्टिक चेत विध्यमान रहन्छ....हेर्दै नक्कले लाग्छ| भूपिका कविता जन जिब्रोमा लामो समय सम्म टिकिरहने छ |भूपिले सम्भवत जीवनको विविध व्यस्तता वा अन्य कारणले धेरै काम गरेको पाउँदैनौ तर राम्रो काम संख्यात्मक भन्दा बडी गुणात्मकताको तराजुमा जोखिदो नै रहेछ|
जनसंघर्षमा होमिएर कविता तथा अन्य सिर्जनात्मक कार्य गर्ने भगतसिंह,कडवेल,गोर्की, लुकाज,मास्वेतादेवी, जस्ता सर्जकहरु बन्न उनीहरुको लेखन र जीवनको सामन्जस्यतामा खोजीनै पर्छ| कवि भुपिमा निहित जनता र उनि बाचेको समय र समाजप्रतिको जिम्मेवारी वहन गर्ने इमानदार सर्जक हुन्|...तब त समबेदना र सिर्जनाहरुमा एक तमासको आकर्षण छ | आफ्ना शब्द र समबेदनाहरुप्रतिको निष्ठाबिना हामी कति फ्यातुलो हुदों रहेछौं....भन्नुहोस् त के तपाई आफ्नो शब्द र भावनालाई न्याय दिन सकिरहनु भएको छ ??के मैले सकिरहेको छु?? यो सवाल छायाँ भएर हामीलाई जहाँ जहाँ हामी लेख्न बस्छौं त्यहि त्यहि खेदिरहेकै हुन्छ......तपाइँ पनि यता फर्केर त हेर्नुहोस्|

No comments:

Post a Comment