Saturday, February 11, 2012

शमसेर अलीकृत ‘बिउ भाले’:फुलबारी जस्तै जीवनको कथाबारी।




कथाकार शमसेर अलीका कथाहरू पड्नुभयो? कहिले पड्नुहुन्छ?- घरमा मैले कुनै पनि पुस्तक निकालेर पड्न थालेपछि भिमाजी सोध्नुहुन्थ्यो। उहाँलाई साँच्चै मन परेको कृतिकै मात्र प्रसङ्ग यसरी निकाल्नुहुन्छ। मेरो मुखमा एउटै उत्तर हुन्थ्यो चारवटा पढेको छु। अहिले आएर मैले अलीजीको १६ कथाहरूलाई दुई चोटी दोहोऱ्याएर हेरीसकेको छु। र यी कथाहरूले मभित्र उहाँको अझै अरू कथाहरू हेर्न पाए भन्ने लालसा जगाएको छ। पडिसक्न साथ नै यसबारे केही प्रतिक्रिया लेखेरै जनाउने सोंचेको हुँ।
आज लेख्ने फुर्सद पाएको छु।
कथाहरूमा कथाकारले आफ्नो युगिन विज्ञान, दर्शन, राजनीति, जे पनि अँटाउन सक्छन् तर कथाले आफ्नो रूप अनि गुण हराउँदैन। हाम्रो समाजका श्रेष्ठ कथाहरूले जीवनको जटिलतालाई अझ जटिलतम बनाउने होइन तर जटिलता देखि सरलतातिर तान्ने प्रयत्न गरेको पाउँदछौँ। शमसेर अलीकृत कथासङ्ग्रह ‘बिउ भाले’ पनि जीवनलाई कलाको सरल धागोमा निपुणतासित उनेर बनाइएको कथा-हार बनेको छ। यस कथासङ्ग्रहमा कथाहरू एकै थरीका छैनन्। प्रत्येक कथाहरू एउटा अर्कै र अलग स्थिति, अलग रोचकता र अलग स्वाद दिने लाग्छन्। यो वैविध्यता भाषामा पनि देख्न पाइन्छ। मुखाल्नी मैयामा प्रयुक्त ग्रामिण भाषा, वाक्य बुनोट र प्रेम-रसमा आधिरित कथा ‘काटिएको त्यो रातो गुड्डी’-मा प्रयुक्त भाषालाई तुलना गर्दा नै यो कुरा स्पष्ट हुन्छ।
कथाकार शमसेर अलिजीको कथाहरू आम पाठकदेखि प्रबुद्ध पाठकसम्मको निम्ति एक स्वादिलो कथा-खुराक हो। यी कथाहरू प्रभावकारी हुनको कारण कथाको सरलता, मिठो कथावस्तु र यसको छरितो स्वरुप हो। यसले सिर्जनात्मक साहित्यको सौन्दर्यसहित लोकप्रिय आख्यान (पपुलार फिक्सन)-को लचकतालाई पनि एक्कैसाथ उठाएको छ जसले गर्दा कथा पठनको निम्ति पाठकलाई लालायित गराईरहन्छ।
कथाका पात्रहरू हाम्रा समाजमा हामीले दिनोदीन भेट्ने अनुहारहरू छन्। रामबहादुर,जेठीसासु,तन्तमान, सोङमित, मैतालीकी आमा, कटुवाल मामा। लेखकको जीवन नजिक भएर गुज्रिएको कथा प्लटहरू भएर हुनसक्छ कथा जीवन्त बनेका छन्, अर्कोतिर कहिले कथाकार स्वयं कथामा प्रतिबिम्बित पनि बनेका छन्। कतिपय कथाहरूले पाठकलाई पुरै हँसाउछ जस्तै कथा ‘बिउ भाले’, कतिपय कथाले ग्रामिण जीवनतिर पुऱ्याउँछ, कति कथाहरूले भक्कानो छुटाउँछ। ‘कैदी नम्बर ५१३-बाब्लु घोष’-मनलाई गहिरो तिक्तता रोपेर गएको लागिरह्यो।एक-एक कथाहरू रोचक छन्।प्रत्येक कथाहरूको स्वाद र रोचकता एउटा खस्रो लेखले थाम्नसक्दैन। अनि कुनै कृतिमाथिको लेख वा मन्तव्य त्यो कृतिमा निहित स्वाद बाड्ने औजार पनि हुनसक्दैन। मैले देखाउन सक्ने कुरा त मैले कसरी स्वाद लिएँ भन्ने नै मात्र त हो।
कथा हुर्किएर कहाँ हो कहाँ पुग्यो। कथाले कथा हुनुको स्थापित मानदंड अनि परिभाषाको सिमाना पनि नाघेर गयो। तथापि नेपाली पाठकहरू बडी भन्दा बडी सरल अनि बोधगम्य कथाहरूबाटै प्रभावित छन्। कथाकार शम्सेर अली आजका सर्जक हुन्, आजकै कथा लेख्छन् अनि कथामा प्रयोग, दुरुह बुनोट, र अरूखाले चाम्रोपन नरूचाउने पाठकका निम्ति उनी धेरै प्रिय हुनसक्छन्। अलीजीका कथाहरू समग्रमा फुलबारी जस्तै छन् जहाँ थरि थरिका फुलहरूले मुस्काएर हाम्रो दृष्टिलाई लल्चाई रहेको हुन्छ। जीवनको यत्ति नजिक रहेका यी कथाहरूमा एउटा श्रेष्ठ तोक्नुहोस् कसैले यो चुनौती मलाई दिएछन् भने म पराजय स्विकार गर्नेछु पहिल्यै।
अब म ढुक्क छु, मैले ‘बिउ भाले’ पढेँ। अब अरू चल्ला-चिङ्नाहरू पर्खेर बसेको छु। तीहरू अझ राम्रो भएर सप्रिएको हेर्ने उत्तिकै रहर छ। कथा पड़ने पाठकहरूले थोरै कालेबुङ-थोरै कथाकार शमशेर अलिसितै धेरै-धेरै कथाहरू भेट्नेछन्। यत्ति लेखिसकेपछी अब मसित अरूलाई सोध्ने एउटा सवाल मात्र रहेको छ:
“तपाइँले शमसेर अलीकृत ‘बिउ भाले’ पड्नु भयो?”
लेखेर सुनाउँदैछु। भिमाजी टाउको हल्लाउनु हुँदैछ। अर्थात् उहाँलाई मन पऱ्यो। म हल्का भएँ।

No comments:

Post a Comment