Saturday, February 11, 2012

मेरो हेराइमा...‘बाडुली र सुदुर सम्झना’।




प्रचलित सर्जक स्वप्निल स्मृति आफ्नो नाम अघि ‘स्व.’ राख्छन्। मेरा दाइले पुस्तक हेरेर मसित जिज्ञासा राखे ‘यिनी छैनन् ?’ मैले भने ‘छन् र सधैँ हुनेछन्।’ उनको आँखाले फेरि सोधेजस्तै लाग्यो, ‘उसो भए स्व. किन?’ मसित जवाब थिएन। थोप्लो नपरेको स्व मात्र हो भने ‘आफु’ वा ‘स्वयं’ भन्न सकिने। थोप्ला परेको स्व. यसबाट सामान्यत स्वर्गीय नै त बुझिन्छ। यो पक्कै कलिलो उमेरमा बडी नसोची राखिएको उपमा हो। त्यसैले म सर्जकलाई स्वप्निल भन्नै रुचाएको छु।
हातमा छ कवि उनको यो कवितासङ्ग्रह, नाम- ‘बाडुली र सुदुर सम्झना’। सर्जक दाइ चन्द्र गुरुङजीले हालै कोरियर गरेर पठाउनु भएको यो कृति पटक-पटक हेरीसकें।

ठीक यतिखेर भने
म पनि केही न केही नलेखी रहन सक्दिन।
(लेखक)
कहाँबाट शुरु गर्ने सोचिरहेको बेला कवि स्वप्निलको यस पङ्क्तिले मेरै कुरा बोलेजस्तो लाग्यो। यो दुई लहरले नै लेखकको काव्यिक चित्र कोरिसकेको छ। ठीक यतिखेर, यो कुनै पनि काल हुनसक्छ लेखक आफ्नो लेख्ने चाह, भोक, वा वाध्यता वा ‘इन्स्टिङ्क्ट’ सित हुन्छन्। समाजमा घटित प्रत्येक कुराहरूले लेखकलाई यसरी प्रभावित गर्छ कि उ नलेखी सक्दैन मात्र होइन नलेख्दा एक अचम्मको पिडा अनुभूत गर्दछ। मलाई पनि कवि स्वप्निलको काव्य कृति माथि केही लेख्नु छ, नलेखी हुँदैन। तर नेपालको वर्तमान नबुझी म उनका कवितालाई कसरी न्याय गर्न सकुँला?
म यत्तिखेर युद्धकाल मैले कता-कता घुमेको पुर्वी नेपालको विकट गाउँको सम्झना गरिरहेछु। युद्धको आतङ्क भोगीरहेको त्यो ग्रामिण नेपालमा गहतको दालसित मकैको च्याँख्ला-भात खाँदै डुलेको गाउँ। मान्छेको उदास आँखाहरू, विकट बाटो, मान्छेको सोझोपन। अनि देशको अनुहार बुन्न लडिरहेका विद्रोहीहरूको चहल पहल। सप्तकोशी-तमर-अरुण-सुनकोसको जल-प्रवाह सप्पै सप्पै सम्झिरहेछु। त्यो सप्पै देखेजस्तो फेरी भेटेजस्तो बनाउने यो कविता सङ्ग्रह हो।....सुदुर सम्झना मेरो निम्ति पनि।
मलाई लाग्यो स्वप्निलले कविताद्वारा एउटा सिङ्गो गाउँको मनलाई सहरतिर तानेर लगेका छन्। उनको कविताको खुबी उनको सरलता र अभिव्यक्तिको मिठास हो। कृत्रिमता मुक्त उनका कवितामा ग्रामिण भाषा र अभिव्यक्तिको चर्को मिठास घोलिएको पाउँछौं। ग्रामिण स्वर, ग्रामिण बिम्ब, ग्रामिण प्रतिक आदिले यी कविताहरूमा लोक गितका झैँ मिठास, माधुर्य, र आकर्षण व्याप्त छ। जिन्दगी माईला, बुबा आदि कविता यसका श्रेष्ठ नमुनाहरू हुन्।
युद्धले थाकेको गलेको देश नेपाल। देशको पिडा, छट्पटी र अनिश्चितता जस्तो विषयले सर्जक मन अक्षुण्ण रहन कहाँ सक्छ र? देश, देशको राजनीति, परिवर्तनकामी चेतना, विद्रोही स्वर, स्वप्निलका कविताहरूको केन्द्रमा रहेका विचारका स्तम्भहरू हुन्।युद्धको जर्जरता भोगेर उठेको देशमा ‘मानवीय मुल्य’ र ‘चीर शान्ति’-को सपना पनि हुन्छन् ‘ओ मेरो प्रिय युद्ध’ जस्तो सशक्त कवितामा कवि स्वप्निलले त्यही महान सपनालाई सिर्जनात्मक अभिव्यक्ति दिएका छन्। जनशक्तिमाथि प्रगाड आस्थासहित, समय र इतिहासको परिवर्तनको क्रान्तिकारी उलटफेर हुनसक्ने प्रगतिशील स्वर उनको उत्कृष्ट कविता ‘आँधीको आख्यान’,’अरू सम्बोधन’ आदिमा मुखरित बनेको छ भने स्वप्निल, काग, हाँसो आदि कविताहरूमा व्यंग भावले अभिव्यक्ति पाएको छ। विषय विविधताले भरिएको अनि अभिव्यक्तिको श्रेष्ठ रूप पाएका यो कृति निरासा, व्यक्ति कुण्ठा, र अनुकरणको लाली-पाउडरदेखि मुक्त छ। यससितै उनका कविताहरू अति-भावुकता र रुन्चे आग्रह मुक्त छन्।
कवितामा के छन् एउटा थोक हो कविता कस्तो छ फेरि अर्कै थोक। कविको मौलिकता, कविको विशिष्ठता कवितामा निहित भाव-विचारसहित यसलाई सम्प्रेसन गर्ने तरिका वा रूपको सम्पूर्ण गठजोडमा निहित हुन्छ जस्तो लाग्छ।
हामी लासहरूको सगरमाथा उक्लेर
तेन्जिङ हुन सक्दैनौ,
फूलहरूको पहाडमा उक्लौँ।
यही कुरा स्वप्निल यसरी लेख्छन्-
लासहरूको सगरमाथा उक्लेर
को हुन्छ तेन्जिंग?
लु! आजै फर्कौँ लुङा!
फूलहरूको पहाडमा
(फूलहरूको पहाडमा)
कविहरूको मूल सामर्थ्य कवितामा थुप्रै कुरा भन्न सक्नु होइन। थोरै कुराहरू पनि कसरी राम्रो अनि मिठो प्रकारले प्रस्तुत गर्न सकिन्छ त्यो तरिका आविष्कार गरिरहनुमा हुन्छ। कवितालाई प्रभावशाली बनाउने थोक विषयको चयन गर्ने कला अनि विषयलाई प्रस्तुत गर्ने कला यी दुवै हुन्। समय र समाजप्रतिको सचेतता र कवि हृदयको सम्वेदनले जीवनका साना-ठुला थोक वा वस्तु वा त अमुर्त विषयहरूमा धरि काव्यिक अन्तर्वस्तु पाउँदछन् वा खोजि गरिरहन्छन्। कवि स्वप्निल आफ्नो कवितामा शब्द चयन गर्नु अनि विषय अनुरूप काव्यिक पद निर्माण गर्नु माहिर छन्। उनको कविताहरू प्रभावोत्पादक हुनको कारण उनको त्यही कलात्मकता हो।
जीवनको विकटता र अनुभवहरूबाट सिंचित सम्वेदनले पनि कति सर्जकहरूको कलममा अनौठो जादु भरिएको पाउँदछौँ। सयौँ-हजारौँ दिनको अभ्यासको साटो कतिपय कलमले थोरै समयमा पनि अचम्मकै प्रगति गरेजस्तो लाग्छ। स्वप्निल स्मृतिको कलममा उनको उमेरभन्दा माथिको वैचारिक आकाश र कला चेतना कसैले देख्छन् भने त्यो गलत वा असम्भव होइन। वास्तवमै उनीभित्र एक साँचो सर्जक छ र उनी आफ्नो मौलिक छाप र पाइलासित नेपाली साहित्य संसारमा बाँचीरहनेछन्।
सङ्ग्रह ‘बाडुली र सुदुर सम्झना’-मा एकाध शाब्दिक त्रुटीहरू पनि छन्। यी बाहेक कविता मात्र हेर्ने हो भने नेपाली साहित्य संसारले एक अर्को राम्रो अनि पठनीय कृति पाएको छ। सर्जक स्वप्निलप्रति हामी आभारी रहनेछौँ।

No comments:

Post a Comment