Thursday, February 9, 2012

डायरी निबन्ध: ३). चक्कामास्तिर जीवन




सानो छँदा आकासमा चराहरू हेरेर म मान्छेको पखेटा नहुनुले धेरैचोटी खिन्न बनिसकेको हुँ। अझैसम्म त्यो पखेटाको उडानको स्वेर-काल्पनिक तृष्णा पुरा हुनसकेन। ‘म कति सानो समयमा घर पुग्न सक्छु’-सोच्दथेँ। घरदेखि अलग बस्नु परेको मेरो १० बर्से उमेरमा मलाई चराको पखेटाले यसरी लालायित तुल्याउँथ्यो जसरी भोकाएको मान्छेको नाकमा पोखिएको कुनै मिठो पकवानको गन्धको प्रभाव हुन्छ। मान्छेहरू हवाई यात्रा गरेर विश्वको कुना-कुना पुग्छन्। मान्छेमा जीवित पखेटाको भोकले यान्त्रिक अभिव्यक्ति पाउँदै हवाइजहाज बनेको सैयौँ बर्षको अन्तरालपछी पनि हवाई-यात्रा गर्ने जन-संख्या थोरै त छन्।जमिन भएर हिड्ने,पानी भएर हिड्ने सवारी साधन मात्र एक ठुलो जन-संख्याको जीवन हिड्ने आधुनिक खुट्टा हुन्।
(विपरित दिशाबाट आएको ट्रक र म चडेको गाडी झन्डैले ठोकियो। गाडी एक्कासी रोकिँदा हाम्रो सरीर अघिल्तिर हुत्तियो।)
जीवनमा दुर्घटना नजिक भएर हामी धेरै चोटी हिढ्छौँ। एउटा वाहन-चालक र गाडीको पुर्जालाई बिश्वास गरेर यात्रा गर्दछौँ। प्रत्येक दिन कति-कति मान्छे दुर्घटनाको शिकार बनेको खबर सुनेर पनि हामी यात्रा गर्न छोड्दैनौँ । समयले हामीलाई यसरी यान्त्रिक वस्तुमाथि निर्भरशील बनाउदै लगेकोछ। कुनै पनि समय यान्त्रिक गडबडी आउनसक्छ तर त्यस्तो सोच्दैनौँ।..हामी मान्छेलाई कम यन्त्रमाथि बडी भरोषा गर्छौँ। घरमा ताला लगाउँछौँ र चोरी हुँदैन भनेर ढुक्क पर्छौँ। गाडीलाई भरोषा गर्छौँ र चालकको अनुहार पद्छौँ-‘मातेको त छैन!’। हुन पनि यन्त्रहरूबाट हामीलाई खतरा छैन फाईदा नै छन्। हामी ठगिएका हुन्छौँ मान्छेबाटै, लुटिएका हुन्छौँ मान्छेबाटै। मान्छेबाट मान्छे मात्र होइन सम्पूर्ण प्राणीजगत खतरामा छन्।
(गाडी रोकियो। बाटो बिचमै अर्को गाडी बिग्रिएर जाम लागेको रहेछ।)
आज पनि ढिलो हुनेरहेछु।..साँघुरो बाटो, पहिरो, जाम आदिले हाम्रो कति समय खान्छ, खान्छ। हाम्रो जीवनको ठुलै समय र हिस्सा गाडीको यात्रा, जाम र व्यर्थको भिडमा बित्छ।...कतिजना यात्रुहरू देखेको छु, जो आफ्नो जीवनको सम्पूर्ण अनुभव र पण्डित्याई गाडीको यात्रामै निखार-पाखर ओकलेर सन्चो मान्छन्। कति-बेला सामान्य भलाकुसारी म पनि गर्न रुचाउँछु।...तर कतिको बोलीको खरो ढंगबाट थुप्रैचोटी विरक्तिएको पनि छु। अझ मत्थु यात्रुको त कुरै अर्कै।
...मलाई गाडीको यात्रामा सबैभन्दा मनपर्ने कुरा हो सोच्नु। सानै देखि प्राय यात्रामा एक्लो परेको छु। कलिलो उमेरमा अस्वभाविक दिवास्वप्नमा रमाउँथे। अहिले सम्झेर लाज लाग्छ। अहिले कहिले कविताको आकार सजाउँछु, कि त सामाजिक जीवनका कुराहरू, दार्शनिक सवालहरू र थुप्रै अरू-अरू। यसरी सोच्न पाउँदा लाग्छ समय त्यसै खेरो फालेको छुईन। यी सोच्ने काम पनि निरर्थक छैनन्। सोचिएका जति जम्मै लेखेर राख्न सक्दिन वा कति कुराहरू लेख्न मिल्ने हुंदैनन् तर सोच्नु पनि मान्छेको जीवनले पाएको सुन्दर गुण नै त हो। यति हो कि धेरै मान्छेको धेरै सोंच जीवनको व्ययक्तिक र बुनियादी आवस्यकता जोहो गर्ने कुराहरूमै केन्द्रित हुन्छन्। सिर्जना, ज्ञान, बौद्धिक चिन्तन यी थोकहरूका निम्ति समाजका थोरै मान्छेहरू मात्र आग्रही अनि जागरुक छन्। सोच्ने कुरामा पर्याप्त सिर्जनात्मक उडान भएको जाति वा समाज सधैँ अग्रगामी हुन्छ। रूढी, पूर्वाग्रह, अन्ध-चिन्तन, अवैज्ञानिक धारणा र सतहीपन मर्दै युक्तिसङ्गतता र वैज्ञानिक मूल्यहरूको स्थापना हुन्छ।
(गाडी हिड्नथाल्यो। सबै यात्रुहरूको अनुहार उज्यालिए। मेरा छेउका सह-यात्रीले मतिर हेर्दै सोधे-‘कति बज्यो?’ मैले मोबाइलतिर हेर्दै भने- ११.३०)
अहो! कति छिट्टो समय बितेछ। सबै यात्रुहरूको अनुहारको रेखा र भावले भन्दैथियो ‘हतार छ! हतार छ!’। गाडी नभएको समय हाम्रा पुर्खाहरू हिड्थे। आफ्नो शारीरिक क्षमता र बलको भरमा जीवन धान्दथिए। अहिले यन्त्रले साँघुरिएको संसारमा मान्छेको हतार अझ किन बढेर गयो?? एकप्रकारको म्याराथन रेस कुदीरहेझैँ मान्छेहरू आफ्नो जीवनलाई फर्केर हेर्ने फुर्सदसित पनि छैनन्। सधैँ प्रतिस्पर्धा, जुनै कुरामा पनि प्रतिस्पर्धा, जहीं पनि हतारो।
(गाडीले अघिको गाडीलाई ओभरटेक गरेर कुद्यो।)
गाडीको चालक पनि हतारमा। मुनाफा, आर्थिक लाभ, नोकरीको खोजी, चाकरी, राजनीति, कुदेको कुदेकै। जो जति तेज कुद्न सक्छ उ उति लाभ प्राप्त गर्छ। यो हतारे संसार र सभ्यताको आधार के हो? पुँजीको बेलगाम दौड पो हो कि!(...अहिले सोच्ने फुर्सद छैन। मेरो निम्ति अरूले नै सोच्दैगरोस् भन्नु??) जे होस्! यो हतारे जीवनको रेस थामेको चार चक्के खुट्टामास्तिर हामीले भुल्दै गएको जीवनको अर्थ, खुसी, मानवीय मूल्य, सामाजिकता, साइनो आदिलाई ब्युँझाउदै दिन-प्रतिदिन यान्त्रिक बन्दै गएको मान्छेलाई उसको मुटु चिनाउने सम्वेदन र सिर्जनशीलता त्यही चारचक्के जीवन माथिबाट खोज्ने आँट कसै न कसैले त गर्न नै पर्छ।
(गाडी रोकियो। भारा तिरेर मनिपर्स हेरेँ......मेरो मुटुको ढुकढुकी तेज भयो। लौ मलाई पनि हतार छ गएँ है पछी भेटौँला।)

No comments:

Post a Comment