Saturday, February 11, 2012

एउटा सानो गाउँबाट





म एक सानो गाउँमा छु
एकतिर मन्दिर
अर्कोतिर भट्टी-पसल
र माझमा उभेर म
नशाग्रस्त गाउँलेको नाडी छामीरहेछु
छुट्टाउनै गाह्रो
नशा ईश्वरको र नशा रक्सीको
दुवै बलियो, दुवै उस्तै-उस्तो।

म एक सानो गाउँमा उभिएको छु
एकतिर स्कुल, अर्कोतिर फैलिएको खेत-बारी छ
र माझमा उभेर म
खेतबाट स्कुल गइरहेका
अनि स्कुल छोडेर खेतमा पसिरहेका
स-साना बाल-बालिकाको अनुहारमा
खोजिरहेछु उज्यालो
ठम्याउनै गाह्रो कुन् कति उज्यालो
एउटै लाग्छ मूल्य
गाउँमा फल्ने शिक्षा र अन्नको।

म एउटा सानो गाउँमा उभिएको छु
एकतिर गोरू अर्को तिर हली उभेको छ
माझमा उभेर
तिनका गर्दनमा भासिएका जुवा
र घाउका खाटाको लम्बाई नापिरहेछु
खुट्टाउनै गाह्रो
हली माटो खन्दैछन् कि आफ्नै मुटु?

म एउटा सानो गाउँमा उभिएको छु
एकतिर सहर, अर्कोतिर जङ्गल पस्ने बाटो छ
माझमा बसेर
त्यो बाटो हिड्ने पाईला गन्दैछु
छक्क पर्छु
कस्तरी जनावरका पाईलाहरू सहरतिर
मान्छेका पाईलाहरू जङ्गलतिर फर्किएका छन्।

म एउटा सानो गाउँमा उभिएको छु
एकतिर भाषण अर्कोतिर भोक उभेको छ
माझमा म हेर्दैछु
पुँजीका भगवानहरूको परियोजना
सत्ताका भगवानहरूको ऐन
बन्दुकका भगवानहरूको परेड
हेर्दैछु
गाउँलाई युद्धको कोशेली दिएर
गाउँमा बम, बारूद रोपेर
पर्खिरहेछ देश चिर शान्तिको स्वास्थ सन्तान।

म एक सानो गाउँमा उभेको छु
जहाँ एकतिर ऐन, अर्कोतिर विद्रोह
सँगै हुर्किरहेछ
जहाँ एउटा बाटो सहर
अर्को जङ्गल पसेको छ।

No comments:

Post a Comment