Thursday, February 9, 2012

(डायरी निबन्ध) १). जीवन र जुलुस

तप्कना थापेर खोपिल्टा बसेको बलेसीको निधार झरीको धान-नाच हेरिरहेछु।भूकम्पले चर्किएको आँगन-आँगन छ मन।यो भुताहा मौनता र असिम डरको सभ्यतामाँझ एउटा सङ्गीतको कल्पना आउँछ।– एउटा यस्तो सङ्गीत, कि त्यसको धुनले मान्छेहरू भयमुक्त बनुन्। असिम होड, असिम भोक र युद्धहरू भन्दा पर पर पर पुगुन मान्छेहरू। मान्छेका स्वार्थ,लालच,घमण्ड,क्रोध,निरासा,सप्पै शेष गर्ने केवल प्रेम-प्रेम-प्रेम भर्ने सङ्गीत। यस्तो सङ्गीत जसको छहारीमा सम्पूर्ण मानव सभ्यता र यो महानतम जीवनले आफ्नो अस्तित्व हुनुको सही मुल्यबोध गर्न सकोस्।– यसरी कल्पना आँउछ।तर कल्पना भन्दा परको संसार कल्पनाभन्दा पर छ। जहाँ शुद्ध कल्पनाहरू बजारमाझ मुर्ति उभ्दछन्।जहाँ स्वार्थका पखेटाहरू खुल्ला आकाशमा उड्दछन् र जहाँ मान्छे फगत आ-आफ्नै उचाई र कद थामेर बाँच्न वाध्य बन्छन। एउटा कारागार जहाँ मान्छेसित बाच्ने केवल दुई अभिप्राय छन्, कमाउनु अनि खानु।...खोई त्यो महान् सार्थकता जसको निम्ति छ जीवन??
जीवनलाई जति छाम्यो उति रङ बदलिन्छ।
व्ययक्तिक ‘म’ र सामाजिक ‘म’, मैले देखाएको ‘म’,र लोक-लाजले लुकाएको ‘म’- मात्रको सिमित चिन्तन र सत्यको खिड्कीबाट जीवनको फैलावटलाई समात्न गाह्रो हुन्छ, देखिएभरिको आकास समातेर मगजमा बसेको नक्सा जसरी अधुरो हुन्छ, जीवनको असिम फैलावटको अधुरो-अधुरो-अधुरो नक्सानै बोकेर हाम्रो चेतना जीवन गुजार्छ। तर ति अधुरो भएर पनि निरर्थक हुँदैनन्, अगेनुमा सल्किने दाउरा वृक्ष हुँदैन, भित्तामा टालिने बालुवाकण जम्मै किनारा हुँदैन। सत्यको अंश-अंश समातेर हामी एक सजिव समाजको घरको कुनै भित्तोमा हुन्छौँ।एउटा कण,एउटा काठ,एउटा काँटी,एउटा इटा अनि अरू-अरू भएर।
हामीले छोडिराखेको सामाजिक घरमा बाच्न भोलि नवजात शिशुहरू रुँदै-रुँदै आउनेछन्, रूनुदेखि बाहेकको जीवन खोज्न। हामीले छोडेको जीवनको घडेरीमा उनीहरू बामे सर्नेछन्, ताते हिड्नेछन्। उनीहरूलाई हामी कस्तो जीवन उपहार दिन चाहन्छौँ?...पक्कै यो आजको जस्तो होइन।लुछाचुडी, युद्ध,आताङ्क,उन्माद,बलमिचाई-को भरमा गुड्ने जीवन पक्कै होइन। त्यसो भए कस्तो त?...हजारौँ वर्ष, लाखौँ-लाख मान्छेहरू यही प्रश्न गर्दै बिते। कति-कति अँध्यारो सासन, कुरूप युगमाथि विजय पाए यही प्रश्नले, मान्छेले आ-आफ्नो समयको घिनलाग्दा अक्षरहरू मेटाउदै लगे,मेटाउदै लगे। त्यो विजयको महान भरोषा, महान आँट र सङ्कल्प स-साना सोंच-चिन्तनको खेतबारी बाटै त लह-लह मौलिएका हुन्। सोचिएका कुराहरू जब समाजको मूल चेतना बन्न पुग्छ, तब ति चेतनाको हात-खुट्टा पलाउँछ, त्यसले हिड्न खोज्छ। तपाइँ जस्तो सोच्नुहोस् त्यसको अंश समाजमा बाँचिरहन्छ यदी त्यो बाच्न जरूरी हुन्छ भने वा त्यो धेरैको निम्ति बाच्न जरूरी छ भने। त्यो मर्छ जो वयकक्तिकताबाट माथि उठ्नै सक्दैन।वा जो जीवनको निम्ति अनावस्यक छ भने।
भर्खर झरीको गति थिमिएको छ, थाकेर थोपा-थोपामा खस्दैछ। फेरी उड्न थालेकाछन् चराहरू चारो खोज्दै।...फेरी नयाँ वर्ष आउन आँटेको छ। पृथिवीले एक फन्को मार्नै आँटेछ सुर्य वरी-परी। म पनि जुलुसमा जानछ। (प्रत्येक जुलुसको मुटुमा गतिमान जीवनले मान्छेको इतिहास यात्रा गरिरहेको हेर्छ। भलै कति-कति जुलुसहरू निरर्थक बन्छन, ठगिन्छन्, गलत छन्,वा प्रयोग मात्र गरिन्छन्।)..म पनि मेरो जीवनको घर बडाल्न चाहन्छु, भोलि जन्मिने शिशुहरू मैला आँगनमा रोगग्रस्त नबनुन्।– जीवनको असिम आकाशमा मेरो स्वाधिनता नै मेरो महान सम्पति हो। उ माथि चरा जस्तै उड्न पाउन् सबै-सबै-सबै।

No comments:

Post a Comment