Saturday, February 11, 2012

भुइँ



१.
बाबुको आङ्मा
बुई चडेको होस्,
आमाको औँलामा
ताते हिँडेको होस्
वा
घर्सिदै बामे सरेको सैसव होस्

थाम्ने भुइँ हो।

२.
दिनभरी उड्छन् चराहरू
जसरी
कल्पनाहरू उड्छन्
गुँढ थामेको रुखको हाँगा पनि
झोलिएकै लाग्छ आकाशमा
पखेटाले गोता लगाउँदै
जति उडे पनि कल्पनाहरू
चराको जम्मै आकाश
थामेको हुन्छ भुइँ।

३).
टेकेर हिँड्नेहरूले
बिर्सेर गएपनि
अग्लिएर रुखहरूले
होच्याएर गएपनि
मौसम-बेमौसम
फुलको जरा पक्रेर
मुस्काइबसेको हुन्छ भुइँ।

४.
बतास आउँछ
सुकेका पत्कर-पत्ताहरू झारेर जान्छ
आँधी आउँछ
कमजोर र रूखका हाँगाहरू झारेर जान्छ

तर जब भुइँले छोड्छ
रूखहरू नै ढल्छ
फेरि-फेरि नटुसाउने भएर ढल्छ
भुइँले छोडेपछि
पाइलाहरू अनाथ बन्छ।

५.
तिमी छौ
म छु
र हामी छौँ
कि भुइँमाथि
कि भुइँतल्तिर।

No comments:

Post a Comment