Tuesday, July 19, 2011

हरियो सुन-१





चियाको गाछ,
बिहानै खसेको कलिलो घाममा हेर्नुपर्छ
हिउँ जस्तै टल्किने मुनामा
कमाने बालाहरूको बैंसालु शरीरको तातो स्वाद
‘अटम फ्लेवर’ भएर सप्रिन्छ,
मंगली यहीं बस्छ,
उसको बैंस विदेशी जिब्रोमा मादक निकोटिन खस्छ।
यसैलाई उनीहरू भन्छन् हरियो सुन।

प्लास्टिकको गम्बुट, बर्सादी र झोलीमा हुन्छन्
साईरन सुनेर हिड्ने हिप्नोटाईज्ड जीवहरू
हिड्दा- हिड्दै गाला चुहेर झर्छ
आँखा तल्तिर कालो धर्सा बस्छ
शरीर पहेंलो, चमकहिन् हाँसो
टुनीको एउटा हाँगामा झुण्डाईएको खाजा बोक्ने वर्तन जस्तै
झोलिएको टाउकोले थामेको हुन्छ
हरियो सुन।
यसको एउटा-एउटा गाछले, हजार-हजार सपनाको वजन थामेको छ।

देश !
यसले गाँजेर समातेको छ, औपनिवेसिक घाउको दाग
पद-को सोपान तल्तिर जमेको छ डरको दह
माँझमा छन् यी अजिबोगरिब मान्छेको देश
जसको नाम हो कमान
जहाँ हुर्कन्छ हरियो सुन
जसको जरा फैलिएको छ प्रत्येक घरको आँगन र देवताकोठासम्म
जसको जरा पसेको छ मान्छेको मन र मुटुसम्म
हातेमालो गरेर उभिएका छन् मान्छेहरू
कि कुनै ठुलो भेल तरिरहेकाछन्
कि कुनै प्रलयको सामना गरिरहेकाछन्
छोरा छैन- छोरि छैन
गाउँ छोडेर जो अन्यत्र कामको खोजीमा छन्
र छ सपनाको क्रमिक खेती
जसको जरा- जरालाई टेक्दै उभेकोछ
हरियो सुन।

No comments:

Post a Comment