Friday, July 1, 2011

राम्रो मान्छे

आँखामा राखेपनि नबिझाउने
साह्रै राम्रो मान्छे तिमी,
तिम्रा आँखा पनि बिझेनन्,
फनफनी घुम्दै डल्ले भुनुसा तिम्रो नानीमै खेलिरहन्थ्यो,
अहँ ! तिमीले आँखा झिम्काएनौ
शरीरभरि जता-ततै झिँगाहरु नाच्दै- रमाउदै खेल्थे
झर्को कहिल्यै मानेनौ,
जुका ल्याप्प्यै टालिएर पाँसुलामै ढाडीएका हुन्थे,
तिमी चुप-चाप उभिएर घाम तापिरहेका हुन्थ्यौ,

नाराम्रा मान्छेहरु जतानाम गाली गरेर जान्थे,
तिमी चुप-चाप बसिदियौ,
चुप-चाप बस्नेहरु, त्यसै-त्यसै राम्रो हुन्छ,
अरु रोए -तिमी रोएनौ,
लात्तै- लात हाने तिमीलाई
अहँ, पत्तै पाएनौ,
केशमा समातेर झक्झकाए – चुपचाप,
तिमी उठेनौ !

लहै!
राम्रो मान्छे
हामी नराम्रो मान्छे,
काँधमा चडाएर तिमीलाई लादैछौँ
जङ्गलको एक छेउ, जमिनको ठिक पाँच फुट उँधो,
तिम्रो चिर निद्रा दफन गर्न जाँदैछौ
लहै,
मन नदुखाउ !
तिम्रो चिर- मौनता र हाम्रो सम्बन्ध टुट्यो।

No comments:

Post a Comment