Sunday, June 19, 2011

काव्य-पोट्रेट: शब्द

भुइँमा खसेको थियो यो
तिमीले पनि भेट्यौ
मैले पनि
लेउ लागेको, काई बसेको
काँचो शब्दहरू
तिमीले पनि पुछ्यौ
मैले पनि पुछे
भुईंबाट टिपेको शब्दलाई मैले
अलिकति बाँच्नलाई नारा बनाएँ
प्रियसीको मन छुने केही मिठा कुरा बनाएँ
अलिकति गाली
अलिकति गफ
अलिकति रवाफ
अलिकति छर-छिमेक, आफन्त ढाक्ने कौसल बनाएँ
र अलिकति जन्ती- मलामी राख्ने औपचारिकता बनाएँ

तिमीले टिपेर शब्दलाई
धुन दियौ र त्यो गीत भयो
भाव र सौन्दर्य दियौ त्यो काव्य भयो
आँट,बिश्वास, र समर्पण दियौ
त्यो मुक्तिकामी सपनाको अग्लो शिखर भयो
ओ साथी ! र जब तिमीले प्राण सम्म दियौ
त्यो युगान्तकारी इतिहास भयो |

No comments:

Post a Comment