Friday, June 17, 2011

गुन्द्री

गुन्द्री

गुन्द्रीमा शुरु हुन्थ्यो जीवनको प्रारम्भिक पाठ
कोमाको दन्त्ये कथा
कोप्पाको रसिलो गफ र संस्मरणको सौगात
गुन्द्रीबाटै शुरु हुन्थ्यो
जीवनको प्रारम्भिक अभ्यास

गुन्द्रीमा निदाउन अभ्यस्त पसिनाको कोमलता

मुलायम डसनामा लपेटिएका मनको कठोरता
यो समय र सभ्यताको दुई पाटो माँझ
मेरो झझल्कोमा नमरेको दन्त्ये कथाको रोचकता
र आजका बालकहरु झुम्ने थ्री डी एनिमेटेड गेमको रोचकता माँझ
शब्दको काल्पनिक सेतु गाँसिएको हेर्छु

तर बन्दैन...
जब हेर्छु मेरो घरभित्रको कम्प्युटर
खिड्कीबाट त्यो माईलाले चिहाउँछ
जसको शरीरको झुत्रो कपडा हेरेर
मेरो छोरोको आँखै घिनाउछ|.....
मेरो छोरोको आँखामा पसेको छ
सभ्यताको हिप्पोक्रिट लेन्स....
घरदेखि, गाउँ र स्कुलसम्मै लिसो दलिएका छन्
जहाँ जसले जहीं, जुन समय टेकेपनि
टालिएर आउँछ पिरामिड घाउका पाप्राहरु
ग्रेट वाल ‘इन्सटिन्क्ट’-को धारमा मान्छेहरु
च्यातिदै-च्यातिदै जान्छ/ जाँदो छ|


.....हेर्दैछु|
.... गुन्द्रीमा सुतेर अग्लिएको हिमाल जस्तै सपनाहरु थिए;
गुन्द्रीमा बसेर पौलाएका साईनो र आत्मियताहरु थिए;
गुन्द्रीमा बसेर सिर्जेका स्वाभिमान र गौरवहरु थिए;
त्यो जीवनको कठोरतासितै मऱ्यो|
मुलायम खोज्दै हिडेको पिठ्यु
जसै गुन्द्री छोडेर शहर पस्यो
उसका शरीर, मन, अंग-प्रत्यङ्ग यान्त्रिक बन्दै गए|

प्रत्येक पाईला छोडिदैछन्
नयाँ दिन, नयाँ अध्याय जोडीदैछन्
तर कहाँ पुग्यौं?
कहाँ जाँदैछौँ??
प्रश्नका ताँती-ताँती जुलुस माँझमा
एक अस्थायी समाधानसुत्र खोज्न
जसै जीवनसित वार्ता-टेबलमा छु
म गुन्द्रीको फैलावटमा सभ्यता साँघुरो- साँघुरो बग्दै
उँधै-उँधो , उँधै-उँधो खसेको हेर्दैछु
यतिखेर म गुन्द्रिलाई सम्झिरहेछु|

No comments:

Post a Comment