Saturday, June 11, 2011

जाँतो

कोमाको हातमा उमेर खुम्चिएको चाउरीले समातेको हुन्थ्यो,
माटोले चिल्लो पोतिएको दलान
चक्कर काट्दै एउटै गोलार्धमा जिन्दगी
मकै पिसिरहेको हुन्थ्यो|

मलाई थाहा छ
र म चाहेर पनि तिमीलाई जो देखाउन सक्दिन
एउटा छुट्टै अनुभूतिको संसार
म बोध गर्न सक्छु
र म जो चाहेर पनि तिमीलाई चखाउन सक्दिन

यो उहिल्यै बेचिएको जमिनमा
म त्यो घरेडीको छाँया देख्छु
कोमाको मधुरो आकृति
घुम्लुङ्ग मजेत्रो ओडेर घोप्टिएको आकार
र जाँतोमा निरन्तर घुमिरहेको हात
र देख्छु पिठो-पिठोमा जन्मिरहेको
असंख्य वर्तमान !!

No comments:

Post a Comment