Saturday, March 5, 2011

शिकार - 4


उ हेर त उँभो
तुर्लुङ्ग झुण्डिएको बल्छीमा
हाम्रै सपनाको चारो
हेर न हेर !
ठिक्क ! हाम्रै भावनाको आकार
हाम्रै सम्वेदनशील अनुहार

बल्छीको टाँगो समातेर
बसेको शिकारीको खोई अनुहार ?
ए ! शिकारीको जिउ पूरै अँध्यारोमा छ।
हेर त कत्ति छोपेर बसेको त्यसले अनुहार पूँजीको उज्यालोमुनी
देउतै जस्तो धप् - धप् बलिरहेछ
वरीपरी मगमगारहेको सत्ताको वासना
कस्तो लाजलाग्दो
छेवैमा निर्वस्त्र सुतेको छ
राल चुहाँउदै सरकार

सुत्न देउ ! सुत्न देउ !
त्यो रातभरी भुकेर थाकेको छ ।
हाम्रो पो हो त सरकार
यूगका देउताहरुको महल बाहिर
यसको हैसियतले
पुच्छर हल्लाँउछ
लुटुपुटु हुन्छ खुट्टामा
र पदलोलुपताको सिक्रीमा
आत्मसमर्पण गर्छ ।
सुन्यौ सरकारको पनि सरकार र त्यसको पनि सरकार हुन्छ ।
र हुन्छ शिकार मन्तिर शिकार र फेरि मन्तिर शिकार ।

बल्छीमा
हाम्रा सपनाहरु हेर
हाम्रो श्रमको मूल्य हेर
हाम्रो आफ्नै मुटु कलेजोहरु हेर
हेर न पत्नीको सानो ईच्छा
सानीको स्कूल ब्याग
कालेको हिप्- हप् डान्स
बल्छीमा सेरिएको

नजाँउ त हाम्रै सपनाहरु छ
जाँउ त जीवन दावमा छ।

शिकारीको अगस्त्यी पेटमा
सभ्यताको काँच्चै माँसु
पसेको पसेकै छ
यो भोको खाड़लमा दबिएको छ रगतपच्छे ईतिहासको मुर्दाघर

माछाहरुले त्यँहीबाट सिक्दैछन्
जीवन ज्यूने कला र संगीत
प्रतिशोध र प्रतिरोधको गीत !!

No comments:

Post a Comment