Friday, February 25, 2011

छोटो हरफहरु

थोपा बन या बन उर्लदो छाल
तिम्रो समुद्रको राजा तिमी हौ !
खोला बग या एक निश्चल ताल
तिम्रो बहावको गति तिमी हौ !

तिमी ज्यूँदो ज्यान बन
या बन एक जल्दो लाश ।



युग अघिदेखि चड्दै आएको छ
अचेतनाको नन्दि गोरुमा
वर्णसंकर शिवहरु
आज पनि ताण्डव जारी छ....




मेरै होइन नि मेरो कविता
झोपडी झोपडीका
रित्तो भाँडा खोर्सी खोर्सी चुहेका शब्दहरु सापटी हुन्
भारीले थिचिएका यौबन
र भोको भुँडीको कर्कसतामा ब्युँझिएको भोको भाव सापटी हुन्
मेरै सम्बेदना नि मेरो होइन
कहिले तिरेर सक्नु यो अपार ऋण?



लुकी लुकी छड्की छड्की
साउती गर्दै हिड्छ
त्यो मनको अहंकार
जो आँखैमा धप-धप बल्छ
जति लुकाएनी देखिन्छ
अँध्यारोमा भुक्छ
फेरी थपक्क लुक्छ
भाव अनि भाषाको लिसो थाप्छ
कहाँ पर्छन् पाईला
रोजी रोजी पासो थाप्छ
त्यो अनुहारमा जुन कृतिमता हुन्छ
हेर्न लायकको हुन्छ...



माटो मास्तिर जीवनले सास लिन्छ
माटो तल्तिर हाम्रो लास बिसाउँछ
प्रत्येक चोटी भूकम्पहरुले
त्यही साइनोको आभास दिलाउँछ|


6बिपना

गुम्लुङ्ग धुसा ओडेको चिसो पुस
मैले कल्पना गरेको न्यानो घाम
जब खस्यो, ठिक मेरो थाप्लो माथि खस्यो
क्रुर गर्मी यामको खडेरी ग्रस्त प्रहर
बद्नाम- बद्नाम खस्यो|

No comments:

Post a Comment