Monday, February 28, 2011

शिकार - 2

यो बाटो सुरक्षित छैन।
प्रतिदिन छलिदै जोगिदै हिंड़ेको धेरै भईसक्यो।
गरप् ! गरप्!
बुट बजार्दै हिँड़छन्
मान्छे मार्ने मान्छे मसिनहरु ।
शिकारी मान्छेको देशमा
म एउटा शिकार मान्छे त हुँ।
कसैलाई भरोसा छैन।
कसैमाथि भरोसा छैन।
शिकार मान्छेहरु जान्दछन्
शिकारी मान्छेको विधानमा
न्याय छैन।

सरकारी मोहर र राज्यको पर्मिट थाप्नेहरु
शिकार खेल्न पाँउछन्
लाईसेन्सधारक शिकारीहरु बस्ती बस्तीमा पसेर
मान्छेको शिकार गर्न स्वाधिन छन् ।
आज गोली चल्यो
शान्ति अनि कानून व्यवस्था बनाईराख्न
हिजो गोली चल्यो
मान्छे मारिए
देशको सुरक्षा र अखण्डता बँचाईराख्न।
शिकार यसरी नै वैद्धानिक छ।
निषेधित र वर्जित छन् त शिकार मान्छेहरु
जो मरिदिनुपर्छ देशको नाममा
जसले सहीदिनुपर्छ शान्ति र कानूनको नाममा
जो फगत बाँचीदिनुपर्छ
सम्विधानको पृष्ठमा
मौलिक अधिकार कुँदिएको फगत अक्षर भएर ।

शिकार मान्छेहरु
जब प्रतिरोध गर्छन्
कि शिकारीहरु विरुद्ध लड़न तम्सिन्छन्
सत्ता र शक्ति डकार्दै शिकारीहरु चिच्याँउछन्
"आतंककारीहरु! हत्याराहरु ! अपराधीहरु ! मारीदे ठोकिदे शेष पारिदे !"

र फेरि हिड़छन्
दिन रात 'गरप् ! गरप !' बुट बजार्दै मान्छे मार्ने शिकारी मसिनहरु!
'दाँया देख् ! बाँया देख!' यो दिक्क लाग्दो कर्कस आवाजमा मसिनहरु परेड खेल्छन् ।

मसिनहरुले कता हेर्नु ?
आफै निणर्य गर्ने स्वाधिनता हुँदैन।
यो बाटो सुरक्षित छैन ।

No comments:

Post a Comment