Tuesday, December 21, 2010

मान्छे र पुच्छरको अपहर

मान्छे
र पुच्छरको अपहरण
Tika Bhai द्वारा, बुधबार , दिसेम्बर 15, 2010 तारिख 6:19बिहान बजे



मान्छे

आफैले नाम राखेको जात

एउटा सुन्दर पशुको नाम थियो

र युग अघि यसको पुच्छर पनि थियो



समयले एकदिन सुटुक्क

मान्छेका पुच्छर चुँड़ेर अपहरण गर् यो!

छाम्यो पुच्छर छैन

लजाउन थाले मान्छेहरु

अहो ! पुच्छर छैन

यता खोज्यो छैन

उता खोज्यो छैन



चिन्ता पर् यो

अरु जानवरहरुलाई कसरी अनुहार देखाउने ?

होईन छेउमा आँउनै नदिने

आएकाहरुलाई थुनेर राख्ने

भागेकाहरुको प्राण लिने

जानवरहरुको विरुद्ध युद्धको घोषणा गरे मान्छेहरुले



कसरी भेटिएला पुच्छर?

मान्छेहरुको महाभेला जुट्यो

ज्ञानी विद्वानहरु सोँचमा परे

निष्कर्ष निकाले

कृतिम पुच्छर लगाउने

मानेनन् बहुसंख्यक

त्यसो भए के त?

पुच्छर नभएको लाज ढाक्न

कपड़ा लगाउने

पात छालाले ढाक्ने

धेरै राजी भए

राजी नभएकाहरु नाङ्गै नाङ्गो जङ्गल पसे



कपड़ा ओड़ेर पनि मान्छेलाई सन्तोक भएन। मान्छेको तृष्णा र पुच्छरको अभाव मेटिएन।

पुच्छर भएका जानवरहरु कति राम्रो ? आह्रिस जाग्न थाल्यो मनमा।



त्यसपछि

मान्छेलाई लाग्न थाल्यो

अब मान्छेको चरित्र नै दोषी छ

अरु जानवर जस्तै हुनुपर्छ

र पुच्छर पलाँउछ



त्यसपछि

मृगहरु देखेर राल काड़ने

बाघ मान्छेहरु भए

निर्माणको साटो रगरगी मच्चाउने बाँदर मान्छे भए

कुकुर मान्छे

गिद्ध मान्छे

ब्वाँसो मान्छे

गोरु मान्छे

क्रमैले सप्पै पशु प्राणी भए मान्छे



अन्तमा थाहा पाए मान्छेहरुले

समयले अपहरण गरेको तिनका पुच्छर

सुटुक्क

स्पेसले मगजभित्र कोचारीदिएका रहेछन्



मान्छेहरुले

आफ्नै मगजमा पुच्छर फेला पारे

तर खुसी भएनन्

किनकी

मान्छेहरु मान्छे रहेका थिएनन्!!

No comments:

Post a Comment