Tuesday, December 21, 2010

...र एउटा बुद्ध

आमाले सानैमा मलाई बुद्धको कथा सुनाएकी थिईन्
जीवन मृत्यु
दुख पिड़ा
अनि के केले पिरोलिएको सिद्धार्थ मन
घर छोड़ेर हिड़ेको कथा चाख मानेर सुनेको थिएँ
कथा बुँझे
तर बुद्धत्व बुझिन...
प्रत्येक बिहान यूमालाई फूल धुप चड़ाउने मेरी आमा
प्रत्येक दिन पित्रको चुल्हा ढुङ्गामा
आगो बाल्ने कर्म सिकाउने मेरी आमा
लामो सास तानेर भन्थिन्
चाहना ईच्छा वा मोह नै हो रे दुखको कारण

आमाले सुनाएको कथा मैले अन्तरेलाई सुनाँउथे
ए चिन्नु हुन्न नि अन्तरे !
नेपालको कुनै गाँउबाट
सानैमा बाउले भारतमा छोड़िराखेको एउटा दाइ उनी
हँसिलो
सोझो
भरिया
मलाई उचालेर उ माथी माथी फ्याक्थे
चिउँSSSव मुटु हुन्थ्यो
तर फेरि फेकोस त्यसरी नै लाग्थ्यो
अन्तरे बलियो थियो
गाँउ भरि उ जस्तो कोही बलियो थिएन लाग्थ्यो

एक दिन सबेरै भेटेँ
अन्तरे गाँउको पुच्छर बारी
अम्बकको बोटमा
तुर्लुङ्ग झुण्डिएको

देशै छोड़ेको बुद्ध
गाँउ साईनो नाता गोता
केही नभएको बुद्ध

बेलुकी आमासित सोधे
आमा ! के अन्तरेले मोक्ष पायो ?
जवाबमा केवल
- चुपलाग् हल्ला गर्नु हँदैन ! पाँए

केही दिनपछि गाँउलेहरुले
त्यो अम्बकको बोटै उखेले
अन्तरेको यादसितै
तर
आज पनि याद आँउछ अन्तरे मलाई
चुँई चुँई भारी बोक्ने अन्तरेको
कुन ईच्छाले प्राणै लियो
कुन मोहले हँसिलो अन्तरे दुखी थियो ??
आज पनि मेरो मनमा एउटै प्रश्न आँउछ
के अन्तरेले मोक्ष पायो ??

No comments:

Post a Comment