Thursday, January 17, 2013

जादु पर्खेर


जराबाट निर्खिदै झरेको बल
हाँगाबाट खिईदै झरेको वैंश
पात पातबाट चुहुँदै भागेको उमङ्ग


यो बुडो रूख
उभेको छ
जादु पर्खेर।


जसरी उभेको छ मेरो देश
छातीभरि योजनाहरू खिलेर
भोकभोकै
हातभरि ऐनका ठेलीहरू बोकेर
हेपिदै मारिदै


जसरी उभेको छ सभ्यता
मान्छेको महानताको कथा भन्दै सुनाउँदै
मरेका दिनहरूको झुठा गीतहरू गुनगुनाउँदै


जसरी उभेको छ
व्यवस्था
आफ्नै रोगी मुटुको ढुकढुक नसुनेर
आत्तिदै आत्तिदै


बुडो रूख
उभेको छ
जादु पर्खेर।


जसरी
कान सुन्ने
मगज चल्ने
मुखले बोल्ने
सचेत निकम्मा
हामी उभेका छौँ।


Friday, November 30, 2012

कलम




बस्!

भएको एउटा थोत्रे अनुहार,

आई.डी. कार्डमा छाप हानेको छु

परिवारलाई यो ज्यान भए पुग्छ
अनि
सरकारलाई बुडी औँला भए पुग्छ

ए साथी!

कलम बोकेर हिडेको छु

अरू केही ठेगान छैन

भरेसम्म फर्किन पनि सक्छु

फेरि फेरि कहिल्यै
नफर्किन पनि सक्छु।


Friday, November 23, 2012

ढकहरूलाई

भनिदेउ

ढकहरूलाई

तराजुमा बसेर

प्रिती गाँस्नु छैन।